गौर,१९ असार ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेश सांसद तथा प्रदेश २ का कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवको सांसद कोषको रकमबाट निर्माण भैरहेको भवनमा पुरानो झ्याल प्रयोग गरिएको छ ।
रौतहट जिल्लाको माधव नारायण नगरपालिकाको माधोपुरस्थित स्वास्थ्य चौकीको परिसरमा निर्माण भैरहेको प्रसूति गृहको भवनमा पुरानो झ्याल सडेको अवस्था भएको प्रयोग गरिएको हो ।
राज्य मन्त्रीको १ करोड विकासको बजेटमध्ये २० लाखको लागतमा उपभोक्ता समितिबाट निर्माण भैरहेको तीन कोठे एक तल्ले भवनमा जामुनको काठको मुख्य गेटमा चौखट प्रयोग गरिएको छ ।
राज्यमन्त्रीको पक्षमा समाचार लेख्दै आएका पत्रकार ओमप्रकाश यादव अध्यक्ष भएको योजनामा पुरानो झ्याल लगाइएको हो ।
स्थलगत अध्ययन गर्ने क्रममा योजना स्थलमा पुग्दा यस्तो पाइएको छ । कोषाध्यक्ष रामपरी देवी, सचिव ओमप्रकाश चौधरीसहित ७ जनाको भवन निर्माण उपभोक्ता समिति रहेको छ । कार्य गराई रहेको सचिव चौधरीले बजेट २० लाख रहेको मात्र जानकारी भएको बताएका छन् । प्राविधिक लागत स्टीमेट अनुसार कार्य भैरहेको दावी गर्दै सचिव चौधरीले भवनको अन्य झ्यालमा काठ लगाउने स्टीमेट भएपनि समयको आभावले गर्दा ग्रील लगाउने प्राविधिकले स्वीकृति दिएको बताए ।
सचिव चौधरीले कहा कहा खर्च भएको, क–कसलाई के कति रकम दिनु पर्ने भन्ने विषयमा आफूलाइ कुनै जानकारी नभएको उल्लेख गरे ।
उपभोक्ता समितिको अध्यक्ष पत्रकार भएकोले उनलाई तथा दाई उपेन्द्र चौधरीलाई खर्चको बारेमा सम्पूर्ण जानकारी रहेको उनको भनाइ रहेको छ ।
पार्टी भित्रमा ए र बी वर्गको यादव रहेको भन्दै गुट उपगुटमा कार्यकर्तालाई बिभाजन गरेका राज्यमन्त्री यादवले तत्कालीन संघीय समाजवादी फोरम नेपालका जिल्ला उपध्यक्ष तथा जिल्ला अधिवेशन र प्रदेश कमिटिको अधिवेशन सहयोगी भूमिका निर्वाह गरेका श्याम विहारी यादवलाई पहल गरेर एक थान बाजार सेड निर्माणको योजना उपलब्ध गराएको स्थानीयहरुले बताएका छन् । यादव अहिले राज्यमन्त्रीको करीबी व्यक्ति रहेका छन् ।