सिमरा,३ साउन । नेपाली सेनाका एकजना लेखापाल बलात्कारको आरोपमा पक्राउ परेका छन् । बारा जिल्लाको सिमरास्थित होटल संगालोसंग जोडिएको बलात्कार घटनामा मकवानपुर घर भइ वीरगञ्ज महानगपालिका ८ घण्टाघरस्थित चण्डी प्रसाद गण वीरगञ्जमा कार्यरत दुर्गा तिमल्सिना पक्राउ परेका हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय सिमरा प्रहरीको अनुरोधमा जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार नै पक्राउ गरेको भए पनि बिहीबार सार्वजनिक गरिएको हो ।
पक्राउ परेका तिमल्सिनालाई इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) अनन्तराम शर्माले जानकारी दिए ।
यसघि बारा प्रहरीले होटल सञ्चालिका आमाछोरी र अर्को एक पुरुषको नाम मात्रै सार्वजनिक गरेको थियो ।
बारा प्रहरीले होटल सञ्चालिका आमाछोरी जीतपुर सिमरा उपमहानगरपालिका १ निवासी ४० वर्षीया पूणिर्मा राय, २१ वर्षीया सीना राय कुर्मी र जीतपुर सिमरा ७ बस्ने २० वर्षीय विशालकुमार गुप्ता र तिमल्सिनाविरुद्ध मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।
अदालतबाट म्याद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जित सिंह राठौरले जानकारी दिए ।