गुजरा,२० साउन ।
गुजरा नगरपालीका ८ स्थित जुगौलीया गाउको मुसहर बस्तीमा २ सय बढी बालबालिका छन । उनीहरूमध्ये अधिकांश विद्यालय जादैनन । सबैजसोले भर्ना गरिसकेका छन । तर अभिभावकले नै घर कुरुवा राखेर पढाउन पठाउ“दैनन ।
विद्यालय जाने उमेरका बालबालिका घरमा त्यतिकै बसेको भेटिन्छन । अधिकांशका अभिभावकहरू छोराछोरीलाई घर कुरुवा राखेर ज्यालामजदुरीका लागि बाहिर जान्छन । उनीहरूको जीवनशैली यसरी नै चलेको छ । ४ महिनाअघि शिक्षा कार्यालय र विभिन्न संघसंस्थाले जिल्लाभरि भर्ना अभियान चलाए ।
तर मुसहर बालबालिकालाई भने अभियानले प्रभाव पारेन । गाउ“मा प्रतिनिधि पुगेर बालबालिकालाई भर्ना गराए । पढ्न जाने बेलामा कसैले पनि पठाउँदैनन् । गरिबका छोराछोरीले पढेर के हुन्छ र भन्ने जवाफ दिन्छन ।
बस्तीका महिला गरिबीका कारण सकस भएको सुनाउथे । सम्पत्ति नभएर सधं पीडामा बस्नुपरेको स्थानीय राजकुमारी मुसहर्नी (माझी) ले बताइन । ‘बच्चा पढाउन पैसा छैन, घरमा खानलाई धौधौ छ,’ उनले भनिन, ‘भर्ना गरेर पनि बालबालिकालाई पढाउन सकिएको छैन । बाहिर काम गर्न जा“दा जा“दा बालबालिकालाई घर कुरुवा राख्ने गरेको उनले सुनाइन । सरोकारवाला संघसंस्था र शिक्षा कार्यालयले शतप्रतिशत बालबालिका भर्ना गरिएको दाबी गर्दै आएको छ ।
समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणका लागि दक्ष एवम् सक्षम जनशक्ति आवश्यक पर्ने जनज्योति उच्च माविका पूर्वप्रधानाध्यापक योगेन्द्रप्रसाद यादवले बताए । ‘यस्तो जनशक्ति उत्पादन गर्ने मुल स्रोत नै शिक्षा हो । उनले भने, ‘सार्वजनिक शिक्षाको गुणस्तरमा रूपान्तरण मार्फत मुलुकलाई आवश्यक पर्ने दक्ष एवम् सक्षम जनशक्ति विकासका लागि नेतृत्व प्रदान गर्नु शिक्षा प्रणालीको मुख्य आधार हो । त्यसैले विद्यालयबाहिर रहेका सबैलाई समेट्नुपर्छ ।’ कतिपय विद्यालयमा भर्ना गरिएका विद्यार्थी आएका छन र छैनन् भन्ने चासो लिइएको देखिँदैन । त्यसैले पनि भर्ना अभियानले सार्थकता पाउन नसकेको पूर्वप्रधानाध्यापक यादवको भनाइ छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७४ साल चैत २८ मा सार्वजनिक गरिएको १० बुंदे मार्गचित्रले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नीति तथा कार्यक्रम निर्माण गरिएको छ ।
नीति तथा कार्यक्रममा विद्यालयबाहिर रहेका बालबालिकाको लगत अभिलेख तयार पार्न बा“की रहेका स्थानीय तहमा अभिलेख तयार पार्ने र तयार भएका स्थानमा चालु वर्षको भर्ना अभियानका आधारमा अध्यावधिक गर्ने उल्लेख छ । विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालय वा वैकल्पिक शैक्षिक पद्धतिभित्र ल्याउन, आइसकेकालाई टिकाउन र सबैमा न्यूनतम सिकाइ सुनिश्चित गर्नका निम्ति अभिलेखमा आधारित ‘विद्यार्थी ल्याऔं, टिकाऔं र सिकाऔं’ अभियान सञ्चालन गर्ने भनिएको छ ।तर अधिकांश विद्यालयले यसो गरेको पाइ“दैन ।
विद्यार्थी टिकाउका निम्ति मानव विकास सूचकांकको आधारमा पछि परेका समूहमा केन्द्रित दिवा खाजा, छात्रवृत्तिजस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने भन्ने स्पष्ट उल्लेख गरिएको छ । तर यसका लागि विद्यालयले कुनै कार्यक्रम गरेको छैन । प्रत्येक स्थानीय तहले आफ्नो भौगोलिक क्षेत्रभित्र विद्यालयबाहिर बालबालिका नभएको घोषणा गर्ने भनिएको छ ।
त्यस्तै विद्यालय आएकाहरूलाई टिकाउन र उच्चतम सिकाइ सुनिश्चित गर्न विशेष योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । गरिब, दलित र विपन्न छात्र छात्राहरूलाई विपन्न लक्षित छात्रवृत्ति प्रदान गर्नुपर्ने कार्यक्रममा उल्लेख छ । कतिपय विद्यालयले छात्रवृत्ति नै नदिएकाले दलित र चरम गरिबीको चपेटामा परेका बालबालिकाहरू विद्यालयप्रति उत्साहित भएको देखि“दैन ।
जुगौलीको बस्तीमा ७० घर मुसहर समुदायको छ । यो बस्ती हेर्दा चरम गरिबी देखिन्छ । अधिकांशको बासस्थान झुपडी छ । त्यो पनि जीर्ण ।गाउ“भरिका बालबालिका नांगै दौडिएको देखिन्थ्यो । गरिबीको चपेटामा परेका मुसहर बालबालिकाले उचित स्याहार र खानपान पाउन सकेका छैनन । उनीहरूले बाँच्नका लागि पाउने आधारभूत सुविधा पाएका छैनन । सामान्य ओत लाग्ने बास, पेटभरि खान र जीउ ढाक्ने कपडा लगाउनबाट यो समुदायका बालबालिकाहरू वञ्चित छन । गरिबीका कारण आमाबुबासंगै छोराछोरीको जीवन पनि त्यतिकै कष्टकर छ । उनीहरूले शिक्षा, स्वास्थ्य र सरसफाइ पाएका छैनन ।पेटभरि खानलाई धौरधौ छ । दैनिक मजदुरी गरेर परिवार पाल्दै आएकाहरू काम नपाएको दिन भोकै बस्नुपर्ने बाध्यता हुने गरेको दुखेसो पोख्छन ।
जुगौलीया मात्र होइन, जिल्लाभरि मुसहर बालबालिकाको अवस्था उस्तै छ । पढ्ने रहर भएर पनि कतिपय बस्तीका बालबालिका विद्यालय जान सकेका छैनन ।
पढेर के हुन्छ र भनेर अभिभावक प्रश्न गर्छन । मुसहर अगुवा अनुप माझी (मुसहर) ले जिल्लाभरि मुसहर बस्तीमा भर्ना अभियानले सार्थकता नपाएको गुनासो गर्छन । ‘भर्ना गरेर मात्र हुन्छ र ? उनले भने, ‘उसको घरको अवस्था के छ ? विद्यालय जाने हैसियत छरछैन । खै राज्यले बुझ्ने काम गरेको ?’ अनुपका अनुसार जिल्लाभरि मुसहर समुदायको २ हजार ५६ घरधुरी रहेको छ । महिला पुरुष, तथा बालबालिकाको संख्या १३ हजार ७ सय ९६ रहेको छ । ति मध्ये साक्षरको संख्या जम्मा ६ सय ३५ मात्र छन् । निरक्षर संख्या १३ हजार १ सय ६१ रहेको अनुपले जानकारी दिए ।
भर्ना अभियानले मुसहर बस्तीमा कुनै प्रभाव नपारेको उनले सुनाए । डुमरिया, बडहर्वा, जुगौलिया, कटहरियालगायत मुसहर बस्तीका बालबालिकाहरू विद्यालय जा“दैनन । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका अनुसार चेतना अभावले अझै पनि दलित समुदायका बालबालिकाहरू विद्यालय जान नखोजेको बुझिन्छ । ‘गरिबी त छ“दै छ, चेतनाको अभाव र स्थानीय तह र विद्यालयले पनि कसरी विद्यार्थीलाई ल्याउन सकिन्छ भन्ने कार्यक्रम ल्याउनुपर्ने ईकाई कार्यालयको भनाई छ ।
अहिले पनि कति बालबालिका विद्यालय बाहिर रहेको भनेर स्थानीय तहसित तथ्यांक मागिएको कार्यालयले जनाएको छ । डुमरियाका मुसहर बस्तीका अधिकांश बालबालिकाको जन्मदर्ता नै छैन । शौचालय नभएकाले वडा कार्यालयबाट मुसहर बालबालिकाले जन्मदर्ताको प्रमाण नपाएका हुन ।
पढ्ने उमेरका अधिकांश बालबालिकाहरू दिनभर खेल्ने र सुँगुर, बाख्रा चराउदै गरेको भेटिन्छन । सरकारले निस्शुल्क स्वास्थ्य, शिक्षा भने पनि नपाएको नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरले बताए । रौतहटको ५८ वटा मुसहर बस्तीमा यस्तै हालत रहेको सुनाए ।