चन्द्रपुर १९ भदौ । रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्य बजार चन्द्रनिगाहपुर चोक र बजार क्षेत्रको फोहोरमैला ब्यवस्थापन नहुँदा ब्यस्त वजार क्षेत्र दुर्गन्धित बन्न पुगेको छ ।
पुर्वपश्चिम लोकमार्गमा रहेको चपुरको वजार क्षेत्रमा उत्पादन भएको फोहोरमैला नगरपालिकाले समयमा ब्यवस्थापन नगरेका कारण यतिबेला बजार क्षेत्र कुरुप र दुर्गन्धित बन्दै गएको हो । चन्द्रनिगाहपुर बजार क्षेत्रमा दैनिकरुपमा पाँच टन फोहोरमैला उत्पादन हुने गरेको चन्द्रपुर नगरपालिका कार्यालयले जनाएको छ ।
बजारक्षेत्रको फोहोरमैला ब्यवस्थापनको जिम्मेवारी बोकको नगरपालिकाको लापरवाही र ढिलासुस्तीका कारण बजार क्षेत्रमा त्यत्तिकै जथाभावी फोहोरमैला छरपस्ट रहेको स्थानीय बताउँछन् ।
चन्द्रनिगाहपुर जिल्लाको उत्तरी भेगको प्रमुख ब्यापारिक र ब्यस्त बजार क्षेत्र हो । चन्द्रनिगाहपुर पुर्वबाट राजधानी र मुलुकको पश्चिम भेगमा जाने लामो दुरीका यात्रुबाहक बस र मालबाहक ट्रकको खाना खाने थलोको रुपमा चिनिँदै आएको छ ।
पुर्वपश्चिम राजमार्गस्थित यहाँको मध्य चोक वजार र सदरमुकामा गौर जाने सडकखण्डमा यसअघि बनाईएको नाला फोहोरले पुरिएका छन् । नाला पुरिएका कारण पानी पर्दा चोक बजार क्षेत्र जलमग्न हुने गरेको छ । पानीको निकासीमा समेत नगरपालिकोको ध्यान जान नसकेको स्थानीय प्रह्लाद मैनालीले बताउनुभयो ।
नगरपालिकाले सकेसम्म यहाँको बजार क्षेत्रमा उत्पादित फोहोरमैला ब्यवस्थापन कार्य गर्दै आएको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बलराम ढकालले बताउनुभयो । उहाँका अनुसार,चन्द्रपुर नगरपालिका क्षेत्र भित्रका प्रमुख वजार क्षेत्रको फोहोरमैला ब्यवस्थित गर्न वातावरण संरक्षण नेपाल नामक एक संस्थालाई जिम्मेवारी दिन कार्यविधि तयार गरि कार्यपालिकाको बैठकमा लगेपनि पास नगरिएकाले फोहोरमैलालाई ब्यवस्थापन गर्न अलि समस्या भएको हो ।