रौतहट । रौतहटमा राजनीतिक समीकरण फेरिँदै गएको संकेत देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट निर्वाचित दुईजना वडा अध्यक्षले पार्टी त्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कटहरिया नगरपालिका–१ का वडा अध्यक्ष भूपेन्द्र प्रसाद कुशवाहा (कोइरी) र गुजरा नगरपालिका–८ का वडा अध्यक्ष मतिन मियाँ मन्सुरी मंगलबार आयोजित एक कार्यक्रममा औपचारिक रूपमा एमालेमा आबद्ध भएका हुन्। घरदैलो अभियानको क्रममा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्दन कुशवाहाले टीका–माला लगाएर उनीहरूलाई स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै दुवै वडा अध्यक्षले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे। उनीहरूले पार्टीले आफ्नो मूल राजनीतिक दिशा गुमाएको आरोप लगाउँदै अब विकास र स्थायित्वका लागि एमाले रोजेको बताएका थिए।
“समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सक्षम शक्ति एमाले मात्रै हो,” उनीहरूको भनाइ थियो। रौतहट–३ कम्युनिष्ट राजनीति बलियो क्षेत्र रहेको उल्लेख गर्दै उनीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी उम्मेदवार कुन्दन कुशवाहालाई विजयी गराउन मतदातासँग आग्रहसमेत गरे।
कार्यक्रममा मधेश प्रदेशका पूर्वमन्त्री केशव राय चौधरी, पूर्वमन्त्री नागेन्द्र यादव, गुजरा नगरपालिकाका पूर्व मेयर प्रत्याशी शेख एकरामुल हक, फतुवा विजयपुरकी पूर्वउपमेयर कान्ति महतो तथा एमाले क्षेत्रीय संयोजक युवराज ज्ञवालीलगायतका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।


