
काठमाडौँ । नेपाली कांग्रेसले फुटबल राष्ट्रिय टिमकी कप्तान सावित्री भण्डारी साम्बाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्स मार्फत अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी सो जानकारी दिएका हुन् ।
खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको शर्माले बताए । देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी ञसाम्बाझ लाई यतिबेला हामी सबैले साथ दिन जरुरी रहेको उपसभापति शर्माको भनाइ छ ।
साम्बाले सोमबारमात्रै आफ्नो उपचारका लागि अनुनयविनय गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् । उनको उक्त आग्रहसँगै सहयोगका हात अगाडि बढिरहेका छन् ।
यद्यपि एन्फा र सरकारले भने कुनै पनि पहल नगरेको भन्दै सञ्जालमा आक्रोश फैलिएको छ । यसअघि काठमाडौँ मेडिकल कलेज केएमसीले उनले नेपालमा उपचार गर्न चाहेमा निःशुल्क उपचार गरिदिने घोषणा गरिसकेको छ ।
त्यस्तै एन्फाका पूर्व अध्यक्ष एवं पूर्व कप्तान गणेश थापाले ५० हजार रुपैयाँ सहयोग गर्ने सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।


