चन्द्रपुर,१०असार । रौतहटको चन्द्रपुर नगरपालिकाले आफ्नो १७औँ नगरसभा नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । पालिकाले १ अर्ब २१ करोड ८० लाख रुपैयाँ बराबरको बजेट ल्याएको उप-प्रमुख जयमाला चौधरीले बताईन ।

प्रस्तावित बजेटअनुसार कुल खर्चमध्ये ८५ करोड रुपैयाँ (७०.५ प्रतिशत) चालु खर्चतर्फ विनियोजन गरिएको छ भने ३५ करोड १३ लाख रुपैयाँ (२९.५ प्रतिशत) पूँजीगत तथा विकास निर्माणका कार्यक्रमका लागि छुट्याइएको छ। नगरपालिकाले वार्षिक नगर विकास योजना पुस्तिकामार्फत नीति, योजना तथा कार्यक्रमगत बजेटको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।

आगामी वर्षका लागि अनुमान गरिएको कुल आयमध्ये ३० करोड ४० लाख रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी, संघीय सरकारबाट राजस्व बाँडफाँड, वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदानमार्फत ७६ करोड ९२ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेश सरकारबाट विभिन्न अनुदान तथा सवारी करबापत ४ करोड ४३ लाख ४८ हजार ६ सय ४० रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ भने मालपोत तथा रजिस्ट्रेसन शुल्कबाट १० करोड ४ लाख ८ हजार ३ सय ६० रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।

यस्तै, गैरसरकारी संस्था छायाँ नेपाल लगायत अन्य संस्थाबाट ५ करोड ३५ लाख ५० हजार ६ सय ९६ रुपैयाँ सहयोग प्राप्त हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संचित रकमबाट १ करोड रुपैयाँ समावेश गरिएको छ।

नगरसभाको समापन गर्दै नगर प्रमुखले चन्द्रपुर नगरपालिकाको समग्र विकास, सुशासन, सेवा प्रवाहमा सुधार तथा समृद्ध नगर निर्माणको अभियानमा आफू निरन्तर लागिपरेको बताए । नगरवासीको अपेक्षाअनुसार विकास निर्माणका कार्यलाई तीव्रता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने प्रतिबद्धता मेयर काफ्लेले व्यक्त गरे ।


