काठमाडौं ८ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध अभियोगपत्र दायर भएको छ ।
प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता गरेको हो ।
अहिले जिल्ला अदालत चितवनको एक नम्बर इजलाशमा उनीहरुको बयान सुरु भएको छ ।
न्यायाधीश हेमन्त रावलको इजालशमा बयान चल्दै गर्दा बाहिर समर्थकको भीडभाड रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिए ।
अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको उनले बताए ।
अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक रेग्मीले बताए । एक सातादेखि आफूले निष्पक्ष ढङ्गबाट घटनाको अनुसन्धान गर्दै आएको र बाह्य दबाब थेग्नु नपरेको जानकारी दिँदै उनले भने,“भिडबाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरी न्यायलयबाटै न्याय खोज्ने परम्परा थाल्नुपर्छ ।” घटना भएपछि प्रहरी प्रधान कार्यालयले आफूलाई अनुसन्धानका लागि खटाएको र सोही अनुरुप आफ्नो काम सम्पन्न गरेको प्रहरी उपरीक्षक रेग्मीको भनाइ थियो ।
प्रहरीले लामिछानेसहित तीन जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार सकिएको थियो ।
सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेसँगै अभियुक्तलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा आदेश आउने छ । यद्यपि बहस केही दिन लम्बिन सक्नेछ । लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो । उनीहरु पक्राउसँगै समर्थकले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् ।
मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ । आत्महत्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । साभार रातोपाटी