चन्द्रपुर। भू–माफियाहरुले सार्वजनिक कुलो प्लटिङ गरेको खुलासा भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्वर ६ बजार टोलबाट दक्षिण तर्फ साविक घर जग्गा धनी भैरब भट्टराईको घर जग्गाको पूर्व पट्टि रहेको १६ फिटको कुलो,पैनी मासेर बाटो बनाईएको स्थानीयले बताएका छन् । व्यक्तिगत जग्गा प्लटिङ गरेर बिक्रि गर्नका लागी कुलो मासेर आर्थिक लाभ लिन खोजिएको भन्दै स्थानीयले गत पुष ११ गते चन्द्रपुर नगरपालिकाको कार्यालयमा उजुरी दिएको भएपनि नगरपालिकाले त्यस विषयमा चासो नदेखाउ“दा अहिले कुलो मासेर ग्रेभल बिछाएर बाटो बनाउने काममा जग्गाधनी बाबुलाल साह लागेका छन् । स्थनीय बासिन्दा बतहु चौधरी,जय प्रकाश शाह,उदय कुमार सिंह र राज कुमार साहले संयुक्त निबेदन दिएको भएपनि नगरपालिकाको बेवास्ताका कारण कुनै एक व्यक्तिको व्यक्तिगत स्वार्थका लागी कुलो मासेर बाटो बनाईनु गलत भएको निबेदक बतहु चौधरीले बताए । सरकारले जग्गाको प्लटिङ र कित्ताकाट रोकेको समयमा भू–माफियाहरुले विभिन्न कागजात तयार गरी प्लटिङ गरेर जग्गा बिक्रि गर्न लागेको स्थानीयको आरोप छ । सार्वजनिक कुलो मासेर व्यक्तिगत प्रायोजनका लागी बाटो बनाउन नपाईने भएपनि त्यसलाई रोक्न नियामनकारी निकाय सक्रिय नहुनुले रकमी चलखेलको आशंका उत्पन्न हुने स्थानीयको आरोप छ । उनिहरुले यथासिघ्र कुलोमा बनेको बाटो भत्काएर पुनःकुलो निर्माण गर्नुपर्ने माग गरेका छन् ।
चन्द्रपुर ६ का वडाध्यक्ष खड्ग कुश्वारले कुलो मासेर बाटो बनाउन नपाईने बताउ“दै यस विषयमा बुझ्ने बताए ।


