गौर । नेपाल -भारत्बसीमावर्ती क्षेत्रमा अवैध मदिरा ओसारपसार भइरहेको सूचनाका आधारमा गरिएको संयुक्त गस्तीका क्रममा ठूलो परिमाणमा नेपाली मदिरा बरामद गरिएको छ। बाराको कचोर्वा सिम्रौनगढ नाका हुदै सनिवार साँझ करिब ७:१५ बजेतिर ७१ बटालियन एसएसबी मोतिहारीको इन्टेलिजेन्स सेटअपबाट प्राप्त विशेष सूचनाका आधारमा बीओपी झन्झरा र जितना प्रहरी चौकीको संयुक्त टोलीले विशेष गस्ती सञ्चालन गरेको थियो।
गस्तीका क्रममा भारततर्फ इन्टरनेशनल बाउन्ड्री पिलर नं. ३६३ नजिक, झन्झरा गाउँस्थित सैनिक रोडबाट करिब २०० मिटर भित्रबाट नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएको अवस्थामा ३०० मिलिलिटरका १७५ बोतल (करिब ५२.५ लिटर) नेपाली मदिरा बरामद गरिएको ७१ औं बटालियन मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले बताएका छन । सोही क्रममा एक मोटरसाइकलसहित एक जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा भारत, बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्ला, जितना थाना क्षेत्रको रेंगनिया गाउँ बस्ने २५ वर्षीय मुकेश गिरी रहेका छन्। उनी शंकर गिरीका छोरा रहेको मुख्यालय प्रवक्ता बिनित कुमार सिहले बताएका छन ।
बरामद गरिएको मदिरा र मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि जितना प्रहरी चौकीमा बुझाएर यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।


