चन्द्रपुर । नेपाली काँग्रेसको केन्द्रिय सर्कुलर अनुसार आज देशका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन भएको छ । प्रतिनिधिसभा संसद विघटनको बिरोधमा रौतहटका १५७ वटै वडामा नेपाली काङ्ग्रेसले बिरोध प्रदर्शन गरेको हो । जिल्लाभरिका ४ वटै निर्वाचन क्षेत्रका १५७ वडामा प्रधानमन्त्री खड्ग प्रसाद ओलीले गरेका संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी कदमका विरुद्ध काँग्रेस पार्टी केन्द्रीय समितिको विरोध कार्यक्रम अनुसार देसभरीकै सबै वडाहरूमा भएको कार्यक्रम सँगै रौतहटको चन्द्रपुरमा पनि नेपाली कांग्रेस नगर कमिटीले वृहत जनप्रदर्शन तथा विरोध सभा गरेको हो । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकार विरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत चन्द्रपुर नगरपालिकाको १० वटै वडामा विरोध कार्यक्रम आयोजना गरिएको हो । विरोध कार्यक्रम जिल्लाको १८ वटै स्थानीय तहका प्रत्येक वडाहरुमा जनसमुदायको बाक्लो सहभागिता रहेको थियो । नेपाली काँग्रेसका कार्यकर्ताहरुको चर्को नाराबाजी सहित पार्टी कार्यालय आईपुगेको विरोध जुलुसले नगरका विभिन्न वडा परिक्रमा सँगै वडा नं एक स्थित पौराई बागमती पुगेर बृहत मोटरसाइकल र्याली सहित सहित गरेर चन्द्रपुर वडा नं १० स्थित कटरचौरीमा कोण सभामा परिणत भएको थियो । सभामा कांग्रेस कार्यकर्ताहरुको बाक्लो उपस्थिति सहित जनसमुदायको उल्लेख्य सहभागिता रहेको थियो । कांग्रेस नेता कल्याण कार्कीका अनुसार कार्यकर्ताको बाक्लो सहभागिताले कटरचौरी खचाखच भरिएको कार्यक्रममा प्रमुख अथिति संघीय संसद देवप्रसाद तिमल्सिना तथा विशिष्ठ अथितीहरुमा प्रदेशसभा सदस्य धनलाल ठोकर तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी लगायत पार्टीका विभिन्न तह र तप्काका नेता नेता कार्यकर्ताको सम्भोधन रहेको थियो ।




