बरहथवा–सर्लाहीको पश्चिम मध्यक्षेत्रमा पर्ने बरहथवा नगरपालिका र रौतहटको गढीमाई नगरपालिकाको जोड्ने बागमती नदीमा पक्की पुल बनेपछि डुंगामा चढेर नदी तर्नुपर्ने बाध्यता हटेको छ ।
संघीय सरकारको २९ करोड रुपैया“ लागतमा साढे ७०० मिटर लामो पक्की पुल बनेपछि दुवै जिल्लाका वासिन्दालाई खोला वारपार गर्न सहज भएको हो ।
बरहथवा–१५ पिप्राभित्ता र गढीमाई–१ समनपुर जोड्ने गरी निर्माण गरिएको पक्की पुलबाट नदीको आसपासमा खेती गर्न वारपार गर्नुपर्ने किसानस“गै साइकल, मोटरसाइकल र सर्वसाधारण ओहोरदोहोर गरिरहेका छन् । ठूलो क्षेत्रफलमा फिँजिएर नदी बगेको स्थानमा पक्की पुल बनेपछि दुवै जिल्लाका किसानलाई खोला वारपार गरी खेतबारीमा काम गर्न जान सहज भएको बरहथवा–२ का महेश बरालले बताए । पुल नबन्दा वर्षायाम १५ मिनेटको बाटो तीन घण्टा लागाएर तय गर्नु पर्थ्यो,बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लखेन्द्र महतोले भने अन्य समयमा नदी वारपार गर्न डुंगाले प्रतिब्यक्ति ५० र मोटरसाइकल को १०० रुपैया“ तिर्नु पर्थ्यो, अहिले पुल बनेपछि सजिलो भएको छ ।
पुल नहुदा यसअघि आवातजावत गर्न असुरक्षित हुनुका साथै लुटपाट र अप्रिय घटना भएको महतोले बताए । अहिले पुल बनेस“गै मानिसको आवागमन बढेपछि ढुक्कस“ग हिडडुल गर्न पाएको उनको भनाइ छ ।
पुल निर्माणको जिम्मा पाएका एलाइट जेभी कन्ट्रक्सन काठमाडौंका प्रतिनिधि अजय पौडेलले आगामी असोज महिनाभित्र सम्पूर्णकाम सम्पन्न गरी हस्तान्तरण गरिने बताए ।
दुई वर्षअघिनै निर्माण सम्पन्न हुनुपर्नेमा २०७६ सालमा आएको बाढीले पुलको ४० मिटर भाग बगाएको र कोभिडलगायत कारणले निर्माण सम्पन्न हुन ढिलो भएको उनको भनाइ छ ।


