रौतहट दलित कुटपिट प्रकरण : छानबिनका लागि राष्ट्रिय दलित आयोगको टोली रौतहटमा

रौतहट । फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरमा दलित समुदायमाथि फागुन १९ गते भएको कुटपिट घटनाको छानबिन गर्न राष्ट्रिय दलित आयोगको टोली घटनास्थल पुगेको छ। आयोगले घटनालाई गम्भीर रूपमा लिँदै पीडित परिवारसँग भेटघाट गरी प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ।

आयोगका सदस्य सुन्दर पुर्कुटीको नेतृत्वमा आएको टोली सोमबार सन्तपुर पुगेर पीडित तथा आरोपित(पिडक) पक्षसँग छुट्टाछुट्टै भेट गर्दै घटनाबारे जानकारी लिएको हो।

 टोलीले घटनाको पृष्ठभूमि, पीडितको स्वास्थ्य अवस्था तथा स्थानीय सरोकारवालासँग छलफल गर्दै आवश्यक तथ्य संकलन गरेको जनाएको छ।

फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि उक्त घटना भएको थियो । पीडित बिर्जा राम चमारका अनुसार सामान्य विवादपछि स्थानीय भुनेश्वर यादव र पसिन्द्र यादवसहितको समूह लाठी–भाटा लिएर साँझ करिब ६ बजे घरमै पसेर कुटपिट गरेको थियो। उनका अनुसार उक्त समूहले घरभित्र रहेका श्रीमती, छोरीसहित ६ जनामाथि निर्घात कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरेको र घरमा रहेका दुई वटा मोबाइलसमेत फिटाईदिएका थिए ।

कुटपिटबाट बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्री देवी रामको शरीरभरि निलडाम परेको देखिएको छ। उनका छोरा राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर सात टाँका लागेको छ। त्यस्तै ललन राम चमारको अनुहार र शरीरमा चोट लागेको तथा नरेश राम चमारको टाउको र आँखामा चोट लागेको पीडित पक्षले जनाएको छ।

पीडित बिर्जा राम चमारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियामा गत बुधबार ८ जना माथी ज्यान मार्ने उधोगमा मुद्दा दर्ता गरिसकेको छ ।

घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य आरोपित भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पीडित परिवारले हालसम्म आफूहरू डर–त्रासको वातावरणमा बस्न बाध्य भएको बताएका छन्।

पीडित परिवारसँग कुराकानी गर्दै आयोगका सदस्य पुर्कुटीले जातीय आधारमा हुने हिंसा कानुनविपरीत गम्भीर अपराध भएको उल्लेख गर्दै यस्ता घटनाप्रति राज्य संवेदनशील हुनुपर्ने बताए। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गराउन तथा पीडितलाई न्याय दिलाउन आयोगले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

घटनास्थल अवलोकनका क्रममा पूर्वमन्त्री विश्वेन्द्र पासवान, फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्याशी विजय यादव  इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख, सशस्त्र प्रहरीका प्रतिनिधि तथा दलित अभियन्ता र स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

टोलीले यस क्रममा स्थानीय जनप्रतिनिधिसँग पनि भेट गरी घटनाको अवस्था तथा शान्ति सुरक्षाबारे जानकारी लिएको जनाएको छ।

l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles