गौर,९ भदौ ।
रौतहटको गौर—गंगापिपरा— समनपुर सडक खण्डमा पर्ने पथरा पुलको डाइभर्सन बाढीले बगाएको महिनौ भईसक्दा पनि मर्मत नहुदा आवतजावत गर्न स्थानीयलाई समस्या भएको छ । बाढीले डाईभर्सन समेत क्षती गरेका कारण डेढ महिना देखि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
गत असार महिनाको २७ र २८ गते आएको विनाशकारी बाढीबाट गौर गंगापिपरा समनपुर सडक खण्ड अन्तर्गत राजदेवी नगरपालिकाको पथरा नजिक रहेको निर्माणाधिन पुलको डाइभर्सन बगाएपछि डेढ महिना देखि उक्त बाटो भएर आवतजावत गर्ने हजारौं यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
पैदल, साइकल र मोटरसाइकलबाट यात्रा गर्ने यात्रुहरु जोखिम मोलेर सदरमुकाम गौर पुग्ने गरेका छन् ।
चार पाग्रे र ठूला सवारी साधनहरु करिव सात किलोमिटरको अर्को गण्डक नहरको बाटो प्रयोग गर्न बाध्य रहेपनि अहिले सम्म उक्त बाटोमा डाइभर्सन बनाउने तर्फ सम्बन्धित निकायले कुनै चासो नदिएको स्थानीय बडहर्वाका बासिन्दा वैद्यनाथ सहनीले बताए । अत्यन्तै चाप रहेको गौर— गंगापिपरा— समनपुरको (रजैया) सडक अन्तर्गत पर्ने पथरा पुलको डाइभर्सन नबन्दा अधिकांश जोखिम मोलेर तथा अन्य बैकल्पिक बाटो भई सदरमुकाम गौर जान बाध्यता रहेको सहनिले बताए । दुर्गा भगवतीको पा“च वटा वडा, माधवनारायणका सवै वडा, गढीमाईको धरमपुर, समनपुर, विनगरा लगायत सर्लाहीको रामनगर सहितका विभिन्न स्थानीय तहका जनताहरुको प्रमुख बाटो अबरुद्ध हु“दा सर्वसाधारणहरुले सास्ती खेप्नु परेको दुर्गा भगवती गाउ“पालिका वडा नम्वर ३ का अध्यक्ष धर्मेन्द्र कुमार झाले बताए ।
वडाध्यक्ष झाका अनुसार बाढीले बगाएको डाइभर्सनको तत्काल मर्मत गरेर यातायात सुचारु गराउन डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरलाई पटक पटक आग्रह गरेको भएपनि हालसम्म बाटो मर्मत हुन नसकेको र डाईभर्सनसमेत बन्न नसकेको झाले बताए । राजदेवी नपा वडा नम्वर १ का अध्यक्ष नरेश यादवले डेढ महिना देखि अलपत्रमा परेको यो बाटो सुचारु गराउन निकै ठूलो खर्चको आवश्यक्ता रहेको भएपनि वडा कार्यालय संग बजेट नहुदा बाटो सुचारु गराउन नसकेको उनले बताए । सडक डिभिजन कार्यालयमा कयौं पटक ताकेता गर्दा स्थलगत रुपमा अनुगमन गरेर बजेट आएपछि डाइभर्सन बनाउने आश्वासनमात्र आउने गरेको उनले बताए । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा साहले आपतकालिन अवस्थामा काम गर्नका लागि डिभिजन कार्यालय संग बजेट नभएको हुदा स्थानीय तहबाट मर्मत सम्भार गर्नुपर्ने बताए । स्थानीय तहबाट ५० प्रतिशत र डिभिजन कार्यालयबाट ५० प्रतिशत लगानी गरेमा तत्काल डाइभर्सन बनाउन सकिने बताउ“दै प्रमुख साहले डाइभर्सन बनिसकेपछि मात्र उक्त बाटो भएर आवतजावत गर्न सकिने बताए ।