कैदी फरार प्रकरणः५ जनालाई विभागीय कारबाहीको सिफारिस

गौर,३ माघ । गत पुस २७ गते आइतबार राति १० बजे रौतहटको गौर कारागारबाट एक जना कैदी फरार भएका थिए । कारागारको विद्युत प्रणाली अवरुद्ध बनाएर अपहरण, शरीर बन्धक तथा संगठित अपराध मुद्दामा १५ वर्षको सजाय पाएका कैदी अशोक राय यादव फरार भएपछि कैदी फरार प्रकरणमा छानविन गर्न गठित समितिले पा“च जनाविरुद्ध विभागीय कारबाही गर्न सिफारिस गरेको छ । कैदी फरार भएपछि कारागार सुरक्षार्थ खटिएका प्रहरी नायव निरीक्षक रामसरोबर सिंहलगायत पाँच जनालाई विभागीय कारबाही गर्न छानविन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष प्रतिवेदन बुझाएको छ । गढीमाई नगरपालिका १ घर भएका यादव फरार भएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा तीन दिनभित्र प्रतिवेदन पेश गर्ने गरी तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो । प्रशासकीय अधिकृत कीरणनिधि तिवारीको संयोजकत्वमा प्रहरी निरीक्षक नविनकुमार सिंह, राष्ट्रिय अनुसन्धानका निरीक्षक मायाशंकर सिंह समेतको छानविन समितिले कार्यालय सहयोगी एकरामुल हकसहित सुरक्षामा तैनाथ रहेका प्रहरी नायव निरीक्षक रामसरोबर सिंह, प्रहरी सहायक निरीक्षक दिनानाथप्रसाद यादव, प्रहरी हवलदार नीरजकुमार सिंह र प्रहरी जवान महानन्दप्रसाद यादवलाई विभागीय कारबाही गर्न प्रतिवेदन बुझाएको हो । छानविन समितिका संयोजक तिवारीका अनुसार कैदी भगाउने कार्यमा कार्यालय सहयोगी हक र कारागारको सुरक्षामा खटिएका प्रहरीको गम्भीर त्रुटी रहेकोले उनीहरुलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ । कारागारको क्षमता भन्दा बढी कैदी राख्नु नहुने, कारागारको पर्खाल अग्लो बनाउनुपर्ने, सीसीटिभी क्यामेराबाट गतिविधि अवलोकन गर्नुपर्ने, सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुनुपर्ने लगायतको १५ बुंदे सुझाव समेत प्रतिवेदनमा समेटिएको संयोजक तिवारीले बताए । प्रहरी सहायक निरक्षक यादव र प्रहरी नायव निरक्षक सिंहलाई निलम्बनको लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाइएको समेत उनले बताए । कार्यालय सहयोगी एकरामुल हकलाई प्रहरी हिरासतमा राखी जिल्ला अदालत गौरबाट ६ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय,रौतहटले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles