चन्द्रपुर/बिभिन्न योजना तथा कार्यक्रमहरुको भुक्तानी नदिएको भन्दै भु तथा जलाधार व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुरमा उपभोक्ताहरुले प्रदर्शन गरेका छन् । आर्थिक बर्ष २०७७/०७८ मा ९ वटा उपभोक्ता समितिले सम्पन्न गरिसकेको कामको करिब ७१ लाख रुपैंया हालसम्म भुक्तानी नगरेको भन्दै उपभोक्ता समितिहरुले सोमबार कार्यालय बन्द गरेर बिरोध प्रदर्शन गरेका थिए ।

भुक्तानी रकम लामो समय सम्म नपाएका उपभोक्ता समितिहरुले संयुक्त संघर्ष समिति गठन गरेर एक हप्ता भित्र भुक्तानी नदिएमा आउँदो आ.व=को काम गर्न अबरोध गर्ने र कार्यालय बिरुद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

पहिलेकै कामको भुक्तानी नदिएको कार्यालयले आ.व.२०७८/०७९ को कामको भुक्तानी दिएर आफुहरुमाथी अन्याय गरेको संघर्ष समितिका कुञ्ज बिहारी चौधरीले बताए । लक्ष्मीपुर ड्याम निर्माण उपभोक्ता समितिले ४ लाख,लक्ष्मीपुर पोखरी निर्माण उ.स.ले ५ लाख ८० हजार,ब्रह्स्थान कम्पाउण्ड वाल गेट निर्माण उ.स.ले ६ लाख ७९ हजार ५ सय ९७,मरधर मन्दिर निर्माण उ.स.ले ७ लाख,हर्दिया खोला किनारा संरक्षण उ.स.ले १० लाख,श्रीराम निर्माण सेवा उ.स.ले २०लाख,जे.के आलु उत्पादन कृषि उ.स.ले १२ लाख,पशुपती सामुदायीक वन उ.स.ले ६ लाख र खैरे खोला तटबन्ध उ.स.ले ४ लाख ४४ हजार ६ सय ९२ रुपैंया भुक्तानी बाँकी रहेको संघर्ष समिलिे जनाएको छ ।

कार्यालयका योजना प्रमुख संजय कुमार मिश्राले प्रकृया पुगेर कार्य सम्पन्न भएका योजनाको भुक्तानी हुने बताए ।


