रौतहट–३ मा चुनावी तापक्रम बढ्दो : परम्परागत राजनीति विरुद्ध परिवर्तनको बहस

रौतहट । फाल्गुन २१ गते नजिकिँदै जाँदा रौतहट क्षेत्र नम्बर ३ को राजनीतिक माहौल क्रमशः तातिँदै गएको छ। वर्षौंदेखि विकासका नाममा जनतालाई आश्वासन बाँड्दै आएको परम्परागत राजनीतिक प्रवृत्तिलाई चुनौती दिने स्वर यसपटक केही फरक ढंगले सुनिन थालेको छ। यसको केन्द्रमा छन् — नेपाली कम्युनिस्ट पार्टी (तारा छाप) की उम्मेदवार पुनम यादवले बताउनु भएको छ।
यादवले उम्मेदवारी घोषणा गरेसँगै चुनावी प्रतिस्पर्धा केवल दलहरूबीचको औपचारिक भिडन्त मात्र नभई राजनीतिक संस्कार र कार्यशैलीबीचको टकराव जस्तो देखिन थालेको बताएकी छिन्। आइतबारदेखि सुरु भएको उनको घरदैलो तथा प्रत्यक्ष जनसम्पर्क अभियानले यस क्षेत्रको चुनावलाई सामान्य औपचारिक प्रक्रिया भन्दा बाहिर ल्याएको छ। कटहरिया नगरपालिकाको भसेढवा लगायत विभिन्न बस्तीमा पुगेर उनले वृद्धवृद्धा, महिला, युवा र किसानसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिक समस्या, गुनासो र अपेक्षा सुन्ने प्रयास गरेकी छन्।
पहिलो महिला उम्मेदवार : प्रतीकात्मकता कि वास्तविक परिवर्तन?
रौतहट क्षेत्र ३ को राजनीतिक इतिहासमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिने पहिलो महिला उम्मेदवार का रूपमा यादवको प्रवेश आफैंमा प्रतीकात्मक अर्थ बोकेको छ। तर यो केवल लैङ्गिक प्रतिनिधित्वको प्रश्नमा सीमित छैन ।

स्थानीय मतदाताले यसलाई पुरानो राजनीतिक संरचना विरुद्ध असन्तुष्टिको अभिव्यक्ति का रूपमा पनि हेरेका छन्।
विगतका चुनावहरूमा देखिएको प्रलोभन–आधारित राजनीति ले विकासको नारा त दियो, तर नतिजा अपेक्षाकृत कमजोर रह्यो भन्ने गुनासो मतदाताहरूको छ।

चुनावअघि आश्वासन र चुनावपछि मौनता — यही चक्रले जनविश्वास क्रमशः कमजोर बनाएको नेकपा नेता अजय तिमल्सिनाको भनाइ छ।
विकासको असमानता : असन्तुष्टिको जड
क्षेत्र नम्बर ३ का मतदाताले उठाउने मुख्य मुद्दा हो — विकासको असमान वितरण। केही सीमित बस्ती र पहुँचवालाहरू वरिपरि केन्द्रित योजनाहरूले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक र सामाजिक चेतनाको अवस्था व्यापक रूपमा सुधार गर्न सकेनन् भन्ने आलोचना सुनिन्छ।
स्थानीय विश्लेषकहरूका अनुसार विकासका योजनाहरू समावेशी भन्दा बढी राजनीतिक प्रभाव क्षेत्र केन्द्रित हुँदा जनस्तरमा असन्तोष बढेको हो। यसले क्षेत्रलाई लामो समयसम्म संरचनात्मक रूपमा पछाडि राखेको आरोप पनि लाग्ने गरेको छ।
“राजनीतिक बन्धक” को अनुभूति
केही मतदाताहरू खुलेर भन्छन् — क्षेत्र नम्बर ३ मा राजनीति व्यक्ति–केन्द्रित हुँदै जाँदा प्रतिस्पर्धात्मक लोकतन्त्र कमजोर भयो। विकास र नेतृत्वको विकल्पबारे खुला बहस हुन नसक्दा यो क्षेत्र एक प्रकारको राजनीतिक बन्धक मानसिकता मा पुगेको अनुभूति स्थानीय स्तरमै पाइन्छ।
यही सन्दर्भमा पुनम यादवको उम्मेदवारीलाई धेरैले “परिवर्तनको अवसर” भनेर व्याख्या गर्न थालेका छन्। तर प्रश्न यो पनि उठ्छ — के नयाँ अनुहार मात्र पर्याप्त हुन्छ? कि प्रणालीगत सुधार, पारदर्शिता र जवाफदेहिता पनि सँगसँगै आउनुपर्छ?
यो चुनाव केवल उम्मेदवारको होइन, राजनीतिक संस्कृतिको पनि
यसपटकको चुनावी प्रतिस्पर्धा व्यक्तिगत लोकप्रियता भन्दा बढी राजनीतिक कार्यशैली, प्राथमिकता र विश्वसनीयता को परीक्षण जस्तो देखिन्छ। मतदाताको मनोविज्ञानमा देखिएको परिवर्तनको चाहना यदि मतदान व्यवहारमा पनि रूपान्तरित भयो भने, रौतहट–३ को चुनावी परिणामले स्थानीय मात्र नभई प्रदेशस्तरमै सन्देश दिन सक्छ।
अन्ततः, यो चुनाव केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई विकासको नारा बेच्ने पुरानो शैलीलाई निरन्तरता दिने कि वैकल्पिक नेतृत्वतर्फ मोडिने भन्ने निर्णायक मोड बन्ने सम्भावना देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles