गौर । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले तस्करी, अपराध र अवैध गतिविधि कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारेका छन्। बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै एसपी रिजालले प्रहरी इमान्दार र व्यवसायिक भएर काम गरे दाग नलाग्ने दाबी गर्दै आफ्नो विगतको ट्र्याक रेकर्ड राम्रो रहेको बताए।
उनले जनताको अपेक्षाअनुसार काम गरिरहेको उल्लेख गर्दै अश्लील गीत–संगीत बजाइने डिजे नियन्त्रण, बाकस बोकेर भागेको स्थानमा विशेष निगरानी तथा निर्वाचन सुरक्षाप्रति उच्च सतर्कता अपनाइने बताए। जेन्जि आन्दोलनका क्रममा लुटिएका हतियार प्रयोग हुन सक्ने आशंका रहेकाले आगामी निर्वाचन चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।
एसपी रिजालले मोटरसाइकल दुर्घटना तथा सवारीसाधन प्रयोगमा देखिएको लापरबाही नियन्त्रण गर्न प्रहरी निगरानी, सचेतना र कारबाहीलाई थप प्रभावकारी बनाइने जानकारी दिए। “प्रहरी सुते अपराध बढ्छ, प्रहरी जागे अपराध घट्छ,” भन्दै उनले अपराध नियन्त्रणका लागि जाहेरीका आधारमा जघन्य अपराधीलाई कस्टडीमा राखेर कारबाही गरिएको दाबी गरे। गैर–व्यवसायिक काम नगरेको र प्रहरीबाट पत्रकारलाई आवश्यक सबै सूचना प्रदान गरिने पनि उनले स्पष्ट पारे।
चुनावविरोधी गतिविधि रोक्न जुनसुकै सुरक्षाका उपाय अपनाइने बताउँदै उनले सामाजिक सञ्जालको दुरुपयोग पनि ठूलो चुनौतीको रूपमा रहेको उल्लेख गरे। होली पर्वलाई समेत निर्वाचन सुरक्षाको दृष्टिकोणबाट संवेदनशील रूपमा हेरिएको उनको भनाइ थियो।


