गौर। जिल्लाको प्रमुख नदीहरु- वागमती, झाझ, बकैयाको पानी ओभर-फ्लो भई क्रमशः दक्षिणतर्फ आउने सम्भावना हुँदा गौर बजारमा आ-आफ्ना सर-सामान सुरक्षित स्थानमा सार्न जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेको छ। त्यस्तै राजपुर न.पा.-९ फतुवा पुल पश्चिमतर्फको नहरको बाँध फुट्दा बैरीया गाउ डुवानको खतरा भएकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ। बागमती नदीले रौतहटको गढीमाई नगरपालिका –८ लक्ष्मिपुर नजिकको बाँध कटान गरेको छ । यसैगरी लालबकैया नदीले फतुवा विजयपुर नगरपालिका स्थित हर्षाहा गाउँको बाँध कटान गरेको छ । प्रहरीको उद्दार टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरदेखि पूर्वमा रहेको कजवेमा पानीको उच्च बहावका कारणसैयौंको संख्यामा सवारी रोकिएका छन् । प्रहरीले पानी डाईभर्सन गर्ने प्रयास गरिरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटवालले बताए । अविरल वर्षाले चन्दपुर नगरपालिका–६ स्थित जनज्योति माध्यमिक विद्यालय डुबानमा परेको कारण विद्यार्थीको प्रथम त्रैमासिक परिक्षा स्थगन गरिएको छ ।
जिल्लाको बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् । सदरमुकाम गौर समेत डुबानमा परेको छ । स्थानीय त्रसित छन् ।
बागमती र लालबकैया आसपासका वासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ । पानीको सहत बढ्दै गर्दा ती नदीको आसपासका वासिन्दालाई सुरक्षित स्थानमा सार्नु पर्ने अवस्था आउने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता नबिन कार्कीेले जानकारी दिए ।


