पर्सा ५ असोज । नारायणी अस्पतालको आकस्मिक कक्षमा भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको छ ।
पर्सा, बारा तथा रौतहटदेखि सर्पदंशका बिरामी ल्याइने यो अस्पतालमा एउटा पनि भेन्टिलेटर छैन । आकस्मिक कक्षका इन्चार्ज डा उदयनारायण सिंहका अनुसार अस्पतालमा गर्मी सिजनमा दैनिक ८ देखि १० सर्पदंशका बिरामी उपचारका लागि ल्याउने गरिएको छ । शरीरमा अत्यधिक विष प्रवाह भई अन्तिम अवस्थामा पुगिसकेका बिरामी एक दिन बिराएर दैनिक १–२ जना हुने गरेका छन ।
यस्तो अन्तिम अवस्थामा रहेका बिरामीलाई उपचार गर्न भेन्टिलेटर अत्यावश्यक हुन्छ । ‘यस्ता सिकिस्त बिरामीलाइ श्वासप्रश्वासमा बढी समस्या हुने भएकाले भेन्टिलेटर उपकरण आवश्यक हुन्छ,’ उनले भने, ‘उपचारको समयमा भेन्टिलेटरको हामीलाई अभाव टड्कारो हुन्छ ।’
सर्पदंशका बिरामी प्राय ग्रामीण भेगका विपन्न र किसान पृष्ठभूमि परिवारका हुने गरेका छन् । खेत खलिहानमा काम गर्ने किसान, वनजंगलमा घाँस दाउरा काटन तथा वस्तु भाउ चराउन जानेहरू, दुलोमा हात हाल्ने बालबालिका सर्पदंशको बढी सिकार हुने गरेका छन् । एउटा भेन्टिलेटर उपकरणको मूल्य न्यूनतम ५ देखि अधिकतम १५ लाख रुपैयाँ पर्छ ।


