निजगढ,०८ बैशाख ।
बाराको निजगढ नगरपालिकाले लक डाउनलाई प्रभावकारी बनाउन नगर भित्र हुने आयात निर्यातलाई व्यवस्थित बनाउने भएको छ । कोरोना भाईरस विपद न्यूनीकरण तथा अनुगमन समिति निजगढका संयोजक मेयर सुरेश कुमार खनालको सभापतित्वमा आईतबार सम्पन्न बैठकले नगरबाट हुने कृषि सामाग्रीको निर्यात आयातलाई व्यवस्थिते बनाउने निर्णय भएको छ ।
समितिको यसअघि बसेको बैठकले नगर भित्र कुनैपनि स्थानबाट खाध्यान्न लगायत अन्य सामाग्रीहरु आयातमा प्रतिबन्ध लगाएको थियो । निजगढ कृषि क्षेत्र भएकाले नगर भित्र आवश्यक खाध्यान्न,फलफुल र तराकारी लगायत कृषि उपजहरु निजगढकै उत्पादनले धान्ने भन्दै आयातमा प्रतिबन्ध गरिएको थियो । तर शुक्रबार राति हुरी बताससंगै आएको असिना पानीले निजगढको कृषि बालीमा नराम्रोसंग क्षति पुगेपछि व्यवस्थित तरिकाले खाध्यान्न,तरकारी,फलफुल आयात र निर्यात गर्ने निर्णय गरेको मेयर खनालले जानकारी दिनुु भयो ।
हुरी बातास र असिना पानीले निजगढमा तराकारी,मकै,केरा,आँप,लिच्ची लगायत कृषि बालीहरुमा करोडौ मुल्यको नोक्सानी गरेका थियो । क्षतिको यकिन तथ्यांक भने आएको छैन । तथ्यांको लागी नगरपालिकाले वडा कार्यालय मार्फत क्षतिको लगत संकलन गर्ने पनि बैठकले निर्णय गरेको छ । नगरपालिकाले केरा किसानहरुलाई लक्षित गर्दै केरा खेतीको बिमा गरिदिएको छ जसबाट किसानहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन बिमा कम्पनिसंग नगरपालिकाले पहल समेत गर्ने भएको छ । अहिले मकै भित्र्याउने समय भएकाले नगर भित्र उत्पादित मकै निजगढका खाध्यान्न व्यवसायीले मात्रै खरिद गर्न सक्ने अवस्था नरहेको समितिका सदस्य समेत रहनुभएका नेपालि कांग्रेस निजगढका उपसभापति नवराज तिमल्सिनाले बताउनुभयो ।
जसको कारण किसानहरुले मकैको उचित मुल्य समेत पाउन नसकेको तिमल्सिनाको भनाई रहेकोछ । केहि हप्ता अघिसम्म व्यवसायीहरुलाई ३२ रुपैंया प्रति किलो सम्म मकै बिक्रि गरेका किसानहरुले अहिले प्रति किलो २८ रुपैंया मै बिक्रि गर्न बाध्य भएका छन । स्थानीय व्यवसायीहरुलाई भण्डारणमा समस्या भएपछी किसानहरुसँग भण्डारणको समस्या देखाउंदै मुल्य घटाएर मकै खरिद गरिरहेका छन । नगरपालिकाले मकै र केरालाई नगर बाहिर निर्यात गर्न आवश्यक समन्वय गर्ने बैठकले निर्णय गरेको छ । नगर भित्रिने सवारी साधनहरुलाई स्यानिटाईज्ड गरेर सामाग्री आयातलाई व्यवस्थित बनाईने समिति बैठकको निर्णय रहेको छ ।
यसैगरी पशु आहारलाई समेत नगरपालिकाले व्यवस्थित बनाएर आयात गर्न दिने व्यवस्था गरिने भएकोछ ।


