चन्द्रपुर,२६ असार । रातिदेखि परेको अविरल बर्षाका कारण पूर्व पश्चिम राजमार्ग अबरुद्द भएको छ । चन्द्रपुर २ स्थित लच्चकामा बाढिले सडक अवरुद्ध गरेको हो । बिहिबार राति देखि परेको लगातारको बर्षापछि शुक्रबार विहानबाट सडक अवरुद्ध भएको हो । राजमार्गमा गुड्ने ठुला साधनलाई पालैपालो पास गराएपनि साना साधनहरु जान सक्ने अवस्था छैन । ईलाका प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक र सशस्त्र प्रहरीले बाढिको अवस्था हेरेर ठुला गाडीलाई पालैपालो गरि पास गराउने गरेको छ ।लच्कामा बाढीका कारण झण्डै ३ सयको हाराहारीमा मालबाहक ट्रक, साना जिप, कार, मोटरसाईकल र एम्बुलेन्स रोकिएका छन् । जोखिमपूर्ण रुपमा केही मानिसहरु मोटरसाईकल गुडाएर वारपार गराएका छन् भने केहीले काधमा साईकल बोकेका छन् । लगातारको बर्षा पछि जिल्लाको दक्षिणभेगमा पनि हल्का पानी जम्न थालेको छ । पानीले निकाश नपाउदा उत्तरी भेगका केही गाउँ डुबानमा पर्ने देखिएको छ । केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान गरिए पछि जिल्लामा त्रास बढेको छ । गत वर्ष असार र साउनमा लगातारको बर्षा पछि जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको थियो भने करोडौको क्ष्यति भएको थियो ।


