चन्द्रपुर,२६ असार। हरेक बर्षझैं यस बर्षपनि सामान्य बर्षमा रौतहटका धेरै गाँउबस्ती डुबानमा परेका छन् । बिहिबार रातभर परेको पानीका कारण गाँउ डुब्नुको कारण पानीको निकाश नहुनु रहेको स्थानीयको भनाई छ । जिल्लाका अन्य स्थानझैं चन्द्रपुर नगरपालिकाका धेरै गाँउबस्ती डुबानमा परेका छन् । सुगम स्थान र ठुलो भनेर चिनिने चन्द्रपुर नगरपालिकाका धेरै गाँउबस्ती डुवानमा पर्नुको मुख्य कारण निकाश विनाको विकाश र जनप्रतिनिधिको लापरवाही भएको स्थानीय नरेश लामिछानेको आरोप छ । सामान्य बर्षमा समेत बाटो र घरभरी पानीनै पानी हुनुले नगरमा कुन स्तरको विकाश भईरहेको छ त्यो छर्लंग भएको लामिछानेको तर्क छ । बर्षका कारण बस्तिका बासिन्दा लाई घरभित्रै बस्न बाध्य बनाएको छ भने कतिपय लाई सडकको बास बस्न बाध्य समेत बनाएको छ । बस्ति डुबानमा पर्न थालेपछि चन्द्रपुर नगरपालिकाको वडाअध्यक्षहरु सम्पर्क बिहीन बन्ने गरेका छन । चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ को दुर्गामाध्यमिक बिद्यालयको पुर्बतर्फका बस्तिको घरमा पानी प्रबेश गरेपछि निकासका लागि वडाअध्यक्षको खोजी गर्दा सम्पर्क बिहीन भएको स्थानीयले बताएका छन । स्थानीय आफै चन्द्रपुर नगरपालिकाको कार्यालय बाट जेसिबी लगेर पानीको निकास गर्न जुटदा समेत जनप्रतिनिधि सम्पर्क बिहिननै रहेका छन् । सामान्य बर्षामा समेत चन्द्रपुर नगरपालिकाको वडानम्बर ४, ५ र ६, ८ का अधिकांस बस्ति डुबानमा पर्ने गरेको भएपनि समय छंदै पानीको निकाशका बारेमा न त नगरपालिकाले चासो दिने गरेको छ,न त वडाका मुखियाहरुले ।

नगरपालिकाको आकर्षणको रुपमा रहेको ४ नम्बर वडाको बाटो होस या घर सबै जलमग्न बन्दा समेत जनप्रतिनिधिको आँखामा लागेको जालो पखालिन सकेको छैन । जव प¥यो राती अनि बुढी ताती भनेझैं जब बर्षा हुन्छ तब नगरपालिका आफैले बनाएको सडक खनेर पानीको निकास निकाल्ने काममा व्यस्त हुने गरेको पाईएको छ । यो दुराबस्थाको एक मात्र कारण वडाको बिकास योजनाको छनौट गर्दा दुरदर्शिता नअपनाउनु रहेको स्थानीय बासिन्दाको आरोप छ । आकाशे पानी पर्दा चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ को टेकान जाने बाटो र पुर्ब पश्चिम राजमार्गको बीच सडक बाट यस्तै मुख्य चौक बाट बजार जाने सडक भएरनै पानी बग्ने गरेको पाइएको छ । चन्द्रपुर नगरपालिकाको वडानम्बर पाँच अन्तर्गत देउराली चौक देखि सरकारी अस्पताल जाने बाटोको दक्षिण् तर्फ संधै डुवानमा पर्ने गरेको छ ।

यस्तै चन्द्रपुर वडानम्बर ८ मा रहेको मरधर सिमसार क्षेत्रको पश्चिम पट्टी र दक्षिण तर्फ भबन बनाउने क्रममा सोही क्षेत्रको नयाबस्ति डुबानमा परेको छ । चन्द्रपुर नगरपालिकाका वडाअध्यक्षहरुले नाला निर्माण भन्दा पनि सडक ग्रेभलमा बजेट बिनियोजन गर्ने र सोही अनुरुप कार्य गर्ने गरेका कारण चन्द्रपुर नगरपालिका बर्षेनी डुबानमा पर्दै आएको छर्लगंै हुँदा समेत बेवास्ता हुनुले चन्द्रपुर नगरपालिका र जनप्रतिनिधिको कार्यशैलीमा गम्भिर प्रश्न खडा हुन्छ ।


