वीरगञ्ज । प्रदेश–२ मा पुनः कोरोनाको संक्रमण तीव्रगतिमा फैलिएको देखिएको छ । शुरुमा निक्कै तिव्र गतिमा फैलिएको कोरोना संक्रमण बीचमा केही मत्थर जस्तो देखिएको थियो तर, फेरी संक्रमण उच्च रुपमा फैलिन थालेको देखिएको हो ।
पछिल्लो एक सातामा तीन जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास देखिएको छ । मृत्युदर पनि बढेको र संक्रमितको संख्या पनि पछिल्लो पटक बढ्न थालेको देखिएपछि संन्त्रास फैलिएको छ । पछिल्लो एकसातामा सप्तरीका एक जना र पर्सामा दुई जनाको मृत्यु भएको छ । अहिले पनि एक हजार ९०१ जना संक्रिय संक्रमित रहेका छन् । शुक्रबार मात्रै प्रदेश–२ मा ४३ जन संक्रमित फेला परेका छन् । जसमध्ये सबैभन्दा बढि पर्सा जिल्लामा भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा ३१, सप्तरी ७, सर्लाहीमा २ र मोरङ, बारा र धनुषामा एक÷एक जनामा संक्रमण देखिएको छ । भारतबाट अवैधरुपमा नेपाल भित्रिरहेको अवस्थामा गत शुक्रबार पक्राउ परी थुनामा रहेका पाँच जना भारतीय नागरिकसहित ३१ जनामा वीरगञ्जमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरूमा पाँच जना थुनुवा कक्षमा रहेका भारतीय नागरिकसहित छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ वर्षीय पुरुष, बहुदरामाई नगरपालिका– ५, भौराटार बस्ने ३३ वर्षीय पुरुष, पकाहा मैनपुर गाउँपालिका– ३, सवैठवाका ५० र २७ वर्षीय पुरुषबाहेक अन्य २३ जना वीरगञ्ज निवासी रहेको कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । नयाँ फेला परेका संक्रमितहरूमा नौ महिने शिशुदेखि ६० वर्षीय महिलासम्म रहेको बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, पर्साका निरीक्षक जयमोद ठाकुरले दैनिकरुपका कोरोना संक्रमितको संख्या बढी रहेको र कुनै पनि ट्राभल हिस्ट्री नभएकामा पनि कोरोना पुष्टि भएकाले कोरोना समुदायमा फैलिसकेको दाबी गरे । गण्डक अस्थायी कोभिड अस्पतालमा रहेका संक्रमितमध्ये २४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको र पाँच जना आइसीयूमा उपचाररत रहेको कोभिड अस्पतालका कोअर्डिनेटर डा. सिंहले जानकारी दिए । प्रदेश–२मा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । अहिलेसम्म चार हजार ७९० जना संक्रमितमध्ये दुई हजार ८८० जना उपचार गराइ घर फर्किसकेका छन् ।
वीरगञ्जमा समुदाय स्तरमा कोरोना संक्रमण पुगेको र यसलाई फैलिन नदिन शनिबार बिहान ५ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरभित्र अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा सम्पन्न संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
लक डाउन हटेको दुई दिन नबित्दै वीरगञ्जमा कोरोना संक्रमण बढदै गएको र दुई जनाको मृत्यु भएको तथा समुदायस्तरमै संक्रमण पुगेपछि यसलाई नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको पर्साका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि जारी निषेधाज्ञा अर्को सूचना नआएसम्म लागू हुने सहायक जिल्ला अधिकारी बस्नेतले बताए ।
वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा सर्वसाधारणलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय भएको बस्नेतले जानकारी दिए । संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजनका लागि आवश्यक पासको व्यवस्था मिलाइने भएको छ । बैठकले भारतसँग सीमा नाका जोडिएका ठाउँहरूबाट आवातजावतमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनाको समेत परिचालन गरिने भएको छ ।
यसैगरी बैठकले पिसिआर परीक्षण बढेपछि संक्रमितको संख्या बढ्दै जान सक्ने हुनाले सबैलाई क्वारेन्टाइन, आइसोलेसनमा राखिने निर्णय गरेको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका मानिसहरूको घरमा होम क्वारेन्टाइनसम्बन्धी मापदण्ड पुग्छ भने घरमै बस्न दिने निर्णयसमेत बैठकले गरेको छ । तर, त्यसका लागि स्थानीय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा रहनुपर्ने सर्त राखिएको छ ।


