चन्द्रपुर । बाराको निजगढमा एक युवाको हत्या गर्नेलाई प्रहरीले मंगलबार बिहान रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । निजगढ नगरपालिका ९ का १९ बर्षका रोहित शर्माको सोमबार राती आफ्नै घरमा घांटी रेटी हत्या भएको थियो । हत्यामा संलग्न रहेका रौतहटको चन्द्रपुर नगरपालिका वाडनं ४ मा पान पसल गरेर बस्ने मक्करे भन्ने ३० बर्षका अरुण कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मृतक शर्माको हत्या गरेर उनको घरबाट साह मंगलबार बिहान साडे चार बजेको समयमा मोटर साईकलमा निस्केको सिसि टिभि फुटेजमा देखिएपछि निजगढ प्रहरी बिहानै चन्द्रनिगाहपुर आएको थियो । हत्यामा संलग्न साहलाई उनकै पान पसलबाट पक्राउ गरिएको र हत्या आफैले गरेको स्विकारीसकेको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले तराई जानकारी दिए ।
जिल्ला प्रहरी कार्यलय बाराका डिएसपी गौतम मिश्र सहितको टोलीले साहको पसलबाट हत्यामा प्रयोग भएको चक्कु ,रगतले ओतपोत भएको कपडा र मोटर साईकल समेत बरामद गरेको छ । हत्या किन भयो भन्ने बिषयमा अनुसन्धान भईरहेको डिएसपी गौतम मिश्रले जानकारी दिए ।


