पथलैया–पथलैया सडकखण्डमा पर्ने चुरियामाई मन्दिरको ओरालोमा बस दुर्घटना हुदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।
दुर्घटना भएको उक्त बसमा चालक, सहचालक समेत गरी २८ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको जनाइएको छ ।
प्रहरीका अनुसार उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।
काठमाडौंबाट रौतहटको बंकुलतर्फ आउदै गरेको ना ६ ख ४६४१ नम्बरको बस ब्रेक फेल भएपछि दुर्घटना भएको बताइएको छ । ब्रेक फेल भएर बस अनियन्त्रित हुदा हेटौंडातर्फ जा“दै गरेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको र उक्त मोटरसाइकल चालक पनि घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते भएका बारा कोल्हवी नगरपालिका–११ बस्ने २२ वर्षीय बिहारीलाल चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अर्थोपेडिक अस्पताल हेटौंडामा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ ।
मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ चौकी टोल बस्ने ३५ वर्षीये इन्द्रबहादुर कार्कीको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ ।
यस्तै कोल्हवी–२ बस्ने ५७ वर्षीया देवकी पन्त र रौतहट विजयपुर नगरपालिका– १ बस्ने ३४ वर्षीय गान्धी दासको अर्थोपेडिक अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।
यस्तै कोल्हवी– १ बस्ने ३९ वर्षीय विरेन्द्र प्रसाद चौधरी र १९ वर्षीय रोहण बहादुर अधिकरीको सन्चो अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।


