चन्द्रनिगाहपुर–सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले आफै मर्मत गरेको सडक पुन जीर्ण बन्न थालेको छ । मर्मत गरेको तीन साता नबित्दै धन्सार बाग्मती सडक खण्डको विभिन्न स्थानमा खाल्टा खुल्टी हुन थालेको हो । मर्मत गर्दा मापदण्ड नअपनाएको कारण चन्द्रपुर नगरपालिका अन्तर्गत धन्सार बाग्मती सडक खण्डको २७ किलोमिटर सडकको बिभिन्न स्थानमा खाल्टाखुल्टी हुन थालेको छ ।गएको साउनको पहिलो हप्तामा मर्मत गरिएको सडक यतिखेर भत्कन थालेको हो ।गत तीन आर्थीक बर्ष देखि सो राजमार्गको खाल्टाखुल्टी मर्मत गरिदै आएपनि केही दिनमानै सडक जस्ताको त्यस्तै हुने गरेको छ ।
क्रसरको चिप्समा ईमोल्सन अलकत्रा बाट घोलेर खाल्टाखुल्टीमा पुरेपनि सडक मर्मत गरिदा रोलरको प्रयोग गरिएको छैन तर राजमार्गमा चल्ने सबारी साधनको भरमा थिच्न छाडने गरेका कारण सामान्य बर्षाको पानीले पुन उप्किएर सडकमा खाल्टा खुल्टी हुन थालेको छ ।
सडक जीर्ण र खाल्टा खुल्टी परेको बिषयमा भने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले भने क्षमता भन्दा बढि भारबहनका सबारी साधन चलेको कारण राजमार्गमा खाल्टा खुल्टी पर्ने गरेको जनाएको छ ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सडक मर्मतको नाममा गत तीन आर्थीक बर्षमा मात्रै झण्डै ५० लाख खर्च गरिसकेको छ तर मर्मत गरेको केही सातामै सडकमा पुन खाल्टा खुल्टी परेपछि राज्यको लगानी बालुवामा पानी खनाएर सरह भएको छ । जीर्ण राजमार्ग र खाल्टा खुल्टीको कारण सबारी दुर्घटनाको खतरा समेत उतिकै रहेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेश केशरीका अनुसार भारबहन क्षमता कमजोर रहेको कारण जति मर्मत गरेपनि सडक भत्किने गरेको बताए ।
उनले ईमोल्सन बाट मर्मत गरिएको सडक सामान्य बर्षामा समेत उप्कने गरेको स्वीकार गरे ।
पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतीको जिम्मा विश्व बैंकले लिइसकेको छ । जसमध्ये सडक विस्तार हुनुका साथै सडकका साना पुल भत्काएर नया“ बनाइने भएपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले झारो टारे झै मर्मत गरेको स्थानीय अर्जुन हुमागाईले बताए ।सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले मजदुर लगाएर आफै मर्मत गरेको सडक चाडै भत्कनु दुर्भाग्यपुर्ण रहेकोे छ ।


