मकवानपुर–मकवानपुरको एक गाउ“पालिकाकी १९ वर्षीया किशोरी, जसले दुई साताअघि एक छोरालाई जन्म दिइन् ।
जन्मिने बित्तिकै छोराको चिच्याहटले उनलाई उनको भविष्य देखाएको थियो। सन्तान जन्मिएपछि हरेक बाबु आमाले उनीहरुस“ग जोडेर आफ्नो भविष्य देख्छन् । तर उनले देखेको भविष्य र चिन्ता सामान्य मानिसको भन्दा धेरै फरक थियो। किनकी उनी एक अविवाहित किशोरी आमा बनेकी थिइन् ।
अझ त्यसमा पनि उनले जन्माएको बच्चाको बुवा आफ्नै दिदीको श्रीमान थिए । जो बच्चा जन्मनुअघि नै जेलको पर्खालभित्र कैद हुन पुगिसकेका थिए। निम्न आयस्तर भएको परिवारमा हुर्किएकी उनले कक्षा ५ सम्म मात्रै अध्ययन गरेकी छन्। घरको कामकाजमा आमालाई सघाउनु पर्ने भएपछि उनले पढाई नै छोडेको थिइन्।
पढाई छोडेर मेलापातमा जाने गरेकी उनले अन्जानमा नै ठुलो बुवाको छोरी अर्थात् उनको दिदीको श्रीमानस“ग यौन सम्बन्ध राख्न पुगिन् । त्यतिबेला उनलाई यो सम्बन्धले उनको जीवनको बाटो कतातिर पुग्छ भन्ने थाहा थिएन। सुरु सुरुमा त उनले भिनाजुलाई बेवास्ता नगरेकी पनि होइनन् । तर अल्लारे उमेरमा रहेकी उनी आफ्नो भिनाजुको माया जालमा परिन् ।
उनको र भिनाजुको सम्बन्ध त्यतिबेला मात्रै बाहिर आयो जतिबेला उनको पेटमा रहेको बच्चा सबैले बाहिरैबाट प्रस्ट देख्न सक्थे । विवाह र आमा बन्ने उमेर नपुगेकी उनी भिनाजुको सन्तानको आमा बन्न लागेको थाहा पाएपछि गाउ“भरी चर्चा भयो ।
गाउ“लेले यति सानै उमेरमा आमा बन्न लागेको रहिछिन् । यो त ठिक होइन , प्रहरीकोमा गएर मुद्दा हाल्नु भनेर मेरो दाइलाई उक्साए । मलाई भने मुद्दा हाल्न मन नै थिएन तर दाइले जवरजस्ती गरेपछि मैले गएर आफ्नो बच्चाको बाउविरुद्ध मुद्दा हाल्न बाध्य भए ,उनले भनिन् ।
मुद्दा हाल्नेबित्तिकै उनको बच्चाको बुवा रहेका भिनाजु जेलमा पर्छन् भन्ने पनि आफूले नबुझेको उनी बताउछन् । उनलाई आफू सानै उमेरमा अविवाहित आमा बनेको भन्दा पनि बच्चाको बुवा जेलमा पुगेकोमा पश्चताप छ ।
विवाह नै नभई आफ्नै भिनाजुको गर्भ बोकेको कुरा बाहिर आएपछि उनले त्यो ९ महिना र सुत्केरी भएपछिको दुई हप्ता कसरी काटेकी छन् भन्ने कुरा बताउदा उनको आ“खा रसाउछन् । छरछिमेक र गाउ“ले सबै टाढा भए । त जस्तो बिग्रेको केटी हाम्रो घर नआउनु हामी पनि आउदैनौ भन्छन् । त्यति मात्रै होइन मेरो आफ्नै दिदीहरूले पनि बोलचाल र भेटघाट बन्छ गरेका छन् ,उनले गुनासो गरिन् ।
यतिमा नै उनको दुःखको भेल रोकिएन। उनको दुःखले त्यतिबेला सिमा पार गर्यो जतिबेला उनको बुवाले उनकै कारण आत्महत्या गरे । अविवाहित छोरीले अर्को छोरीको श्रीमानको गर्भ बोकेको थाहा पाएका उनको बुवाले यो दुःख सहन सकेनन् र एक महिनाअघि आत्महत्या गरेको उनी बताउछिन् ।
यो कुरा बाहिर आएपछि बुवा दुखी त हुनुहुन्थ्यो तर पनि बुवाले दुईजना छोरीहरू मिलेर बस भन्नु भएको थियो ।


