पर्सा–अरूले संचालन गरेको उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टास गरी प्रतिलिपि अधिकार ऐन विरुद्धको कसुर गर्ने एक अभियुक्त पर्साबाट पक्राउ परेका छन् । बढी नाफा कमाउन सर्वसाधारण उपभोक्तालाई झुक्याउदै अरूको उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टास गर्ने अभियुक्तलाई पर्सामा पक्राउ गरिएको हो ।
पक्राउ परेका अभियुक्त वीरगन्ज महानगरपालिका–८ का रोहित साह कानु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अधिक नाफा कमाउने उद्देश्यले वीरगन्ज २८ सवैठवामा रहेको चट्कर बीएमपी स्पाइस उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टास गरी कानुले बिक्री वितरण गर्दै उपभोक्ता ठगी गरेको भेटिएपछि पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।
साहले संचालन गरेको उद्योग चाँहि अन्नपूर्ण मसला उद्योग रहेको प्रहरी नायव उपरीक्षक खनालले बताए। कानुनले संचालन गरेको अन्नपूर्ण मसला उद्योगमा रीतपूर्वक खानतलासी लिदा चट्कर बीएमपी स्पाइसको लेबलिङ गरेका ६ सय ५४ पोका तयारी मसला, तयारी गर्न बाकी १० बोरा मसला, मसला पिस्ने मेशिन थान १ पनि र स्पाइसका स्टीकरहरू पनि अरु बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गतको कसुर गरेको भेटिएपछि थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट पाच दिनको म्यादसमेत थप गरी ल्याइएको पर्सा प्रहरीले जनाएको छ ।


