चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिहरुले कानून विपरित चाडपर्व खर्च र पोशाक खर्च लिएका खुलेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको सो नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को लेखा परीक्षणको प्रतिवेदन अनुसार नगरपालिकाका जनप्रतिनिधिहरुले कानुमै नभएको चाडपर्व खर्च र पोशाक खर्च वापत २० लाख ४३ हजार लिएका हुन् ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ मा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुलाई चाडपर्व खर्च दिने व्यवस्था नगरेपनि सो नगरपालिकाले समेत सुविधा स्वरुप उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार २०७६ असोजको मासिक पारिश्रमिक सुविधा भुक्तानी गर्दा पारिश्रमिक तथा सुविधा भर्पाईमा नगरपालिकाका ५४ जना जनप्रतिनिधिहरुलाई थप एक महिना बराबरको ६ लाख ९३ हजार पर्व खर्च उपलब्ध गराइएको छ ।
त्यसैगरी सो ऐनमा पदाधिकारीहरुलाई पोशाक वापत रकम उपलब्ध गराउने व्यवस्था नभएपनि नगरपालिकाले प्रदेश नम्बर २ को संसदमा विचाराधीन विद्येयकलाई आधार बनाई निर्णय गरी प्रति सदस्य जनही १० हजारका दरले ५४ जनालाई ५ लाख ४० हजार वितरण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


