चन्द्रनिगाहपुर–रौतहटमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको मुख्य गेट छिर्नेबित्तिकै दुवै कुनातिर काठको थुप्रो देखिन्छ । यी काठ वन कार्यालयले विभिन्न समयमा बरामद गरेको हो । वर्षौंदेखि थुपारिएका काठ कुहिदै गएका छन् । वन कार्यालयले समयमै लिलाम गर्न नसक्दा करोडौं राजस्व आउने काठ कामै नलाग्ने भएका हुन् ।
डिभिजन वनका तत्कालीन प्रमुख अर्जुन केसीको पालामा धन्सार वनक्षेत्रमा ढलापडा संकलनको नाममा ठेकेदारले नियम विपरीत सालको गोलीया टुक्र्याएर दाउरा बनाउन लाग्दा बरामद गरिएको थियो ।
त्यसरी बरामद गरिएको झन्डै ४ हजार क्यूफिट काठ कुहिएको छ । उक्त काठको मुद्दा चलेपछि सशस्त्र वन रक्षकको कम्पाउन्डमा राखिएको थियो । मुद्दाको छिनोफानो नहुदा खुला स्थानमा राखिएको काठ संरक्षण अभावमा कुहिन थालेको हो । ठेकेदारले का“चो सालको रुख काटेर अनियमितता गरेको पाइएको थियो ।
त्यस्तै बलरीको जंगलबाट एक सय वटा टायरगाडा सहित बरामद गरेको सालको गोलिया पनि कुहिएको छ । टायरगाडा र गोलिया एकै साथ कुहिएको हो । डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादबले समयमै मुद्दाको छिनोफानो नहुदा काठ लिलाम गर्न नसकिएको बताए । धेरै जसो काठहरू बेबारिसे फेला पर्छन् । तस्कर फरार भएपछि मुद्दाको छिनोफानो गर्न गाह्रो हुन्छ,उनले भने, यही कारण करौडाको काठ कुहीएको हो । अब यसको लगत तयार गर्दै छौ । डिभिजन वनअन्तर्गत अहिले ८ वटा सबडिभिजनहरू छन् । सबै कार्यालयको कम्पाउन्डमा हेर्ने हो भने ठुलो परिमाणका साल, कुकाठ लगायतका गोलियाहरू कुहिएर कामै नलाग्ने भएका छन् । २०६२ सालयता झण्डै १० हजार क्युफिट काठ कुहिएको वन कार्यालयको भनाइ छ ।
बरामद काठ र सवारीहरू समयमा बिक्री गरेको भए राज्यले करोडौं राजस्व पाउने वनकै कर्मचारीहरू बताउछन् । वनले चोरी तस्करीबाट बरामद काठ र सवारी २ लाख रुपैया“भन्दा कम भएमा आफैले मुद्दा चलाउन सक्छ । तर मुद्दाको फैसला संघअन्तर्गतका प्रमुखले गर्ने अधिकार रहेकाले जटिल भएको वनको विकास फाटका अधिकृत मधु सिंहले बताए ।वनका कर्मचारी प्रदेशको मातहतमा गए,उनले भने, पछिल्लो समय यो कारणले पनि मुद्दाको छिनोफानो हुन सकेको छैन । विभिन्न पोस्टमा चोरी निकासी र तस्करबाट बरामद काठको मुद्दा प्रशासनसित राय लिएर किनारा लगाउनु पर्ने वनका कर्मचारीहरू बताउछन् ।


