चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रनिगापुरमा ‘कलम छाप’ का मेयर पदका उम्मेदवार बाबुराम दाहालले ‘एक टोल, एक उत्पादन’ अभियान संचालन गर्दै प्रत्येक बर्ष ५०० जना युवाहरुलाई रोजगारी सिर्जना गर्ने बताएका छन् ।
बैशाख ३० गते हुने निर्वाचनका लागि मत माग्दै घरदैलो अभियानमा जुटिरहेका उम्मेदवार दाहालले उद्यमशीलता र विषयगत शिपमूलक तालिमका साथै सहुलियत दरमा ऋण उपलब्ध गराई उद्योग व्यवसायमा लगाई युवाहरुलाई रोजगार बनाउने योजना रहेको प्रतिबद्धता जनाएका हुन् ।
त्यस्तै युवा व्यवसायीलाई सहुलियत ऋण उपलब्ध गराउने र गैर आवासीय नेपालीहरुको लागानी भित्र्याउन विशेष योजना बनाउने समेत उनको प्रतिबद्धता छ ।
यसैक्रममा आज वडा नम्बर ४ र ८ मा नेकपा एकीकृत समाजवादीले घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।
आसन्न निर्वाचनमा ‘कलम छाप’ का मेयर पदका उम्मेदवार दाहाल, उपमेयर उम्मेदवार रामरति चौधरी र वडाका उम्मेदवारहरु सहित नेकपा एसका उल्लेख्य नेता कार्यकर्ता घरदैलोमा कार्यक्रममा सहभागी थिए ।
बैशाख ३० गते हुने निर्वाचनको प्रचारप्रसार र आफ्नो पार्टीलाई विजयी गराउन मत माग्दै नेकपा एसले चन्द्रपुरको १० वटै वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।


