चन्द्रपुर/रौतहटमा एक व्यक्तिले दुई छुट्टा–छुट्टै कार्यालय प्रमुखको जिम्मेबारी सम्हालेपछि सेवाग्राही मारमा परेका छन् । राजनीतिक दलको आडमा पर्सा र रौतहट जिल्लामा रहेका दुई सरकारी कार्यालयको प्रमुख एउटै व्यक्तिलाई बनाएपछि दर्जनौं विकाश निर्माणका आयोजना अलपत्र परेका छन् ।
हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगञ्जका प्रमुख सिनियर डिभिजन ईन्जिनियर दारोगा प्रसादलाई रौतहटको चन्द्रनिगाहपुरमा रहेको सडक डिभिजन कार्यालयको प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यी दुवै कार्यालय प्रमुखको जिम्मेवारी ई. दारोगालाई दिएपछि प्रशासनिक कामकारवाहीमा ढिलासुस्ती भएको भन्दै जिल्लामा चौतर्फी आलोचना भएको छ ।
हुलाकी राजमार्ग आयोजनाको कार्यालय वीरगञ्ज र सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबीचको दूरी ६९ किलोमिटर छ, हुलाकी राजमार्ग आयोजनाको कार्यालयमा सेवाग्राही पुग्दा उनी त्यहाँ भेटिदैनन् भने सडक डिभिजन कार्यालयमा पुग्दा त्यहाँ समेत उनलाई नभेटिने गरेको सेवाग्राहीहरु बताउँछन् ।
दारोगा बिदामा बसे वा विरामी भए सेवाग्राहीको कामकारबाही कसले गर्छ भन्ने प्रश्न छ । सरकारी कार्यालय जस्तो संवेदनशिल निकायमा एउटै व्यक्तिलाई दुई छुट्टा–छुट्टै कार्यालय प्रमुखको जिम्मेवारी दिनु आश्चार्य भएको स्थानीय बताउँछन् ।
ईं. दारोगाले दुई कार्यालयको जिम्मेवारी सम्हाले यता तीनवटा महत्वपूर्ण परियोजनाको ठेक्का सम्झौता रद्द गरिदिएका छन् । उनले सम्झौता रद्द गरेपछि निर्माण ब्यवसायीले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको गुनासो गरे ।
आर्थिक वर्ष २०७८/८९ सकिन एक महिना बाँकी रहँदा रहँदै सम्झौता बिनाकारण रद्द गरिएको निर्माण व्यबसायीहरुको आरोप छ ।
आर्थिक वर्षको अन्त्यमा आइपुग्दा दर्जनौ विकास निर्माणका परियोजना अलपत्र पर्न सक्ने देखिएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगञ्ज अन्तर्गत २०७२ सालदेखि सञ्चालित बारा, पर्सा र चितवनका भालु, अरुवा, भरतपुर माडी ठोरी हुलाकी राजमार्गका रतनी, बादरमुढे, चिताइ, पतरी, टुनामुना, मगई, बगइ, घाघर खोला लगायतका पुल निर्माणले पनि गति लिन सकेका छैनन् ।
सडक डिभिजन चन्द्रनिगाहपुरबाट सञ्चालित निजगढ बंकुल सडक, गौर पिप्रा समनपुर सडक, भेडियाही सडक, ब्रम्हपुरी पडरिया, मर्यादापुर, गम्हरीया लक्ष्मीपुर, हरिहरपुर कटानी, सखुवा भेलाही, मैनाथपुर, निचुटाह लगायका सडक र पुलहरूको निर्माण कार्यले समेत गति लिन सकेका छैनन् ।
दारोगाकै कारण विकास निर्माणका कार्य अपेक्षित ढंगले हुन नसकेको भन्दै आलोचना भइरहेको बेला सडक विभागले एकै व्यक्तिलाई दुई कार्यालयको जिम्मेबारी सम्हाल्न दिनु अर्थपूर्ण रहेको छ ।


