चन्द्रपुर / सरकारी विद्यालयहरू स्थानीय तहको मातहतमा गए पनि सक्षम र भरपर्दो हुन सकेको छैन । रौतहटको चन्द्रपुर नगरपालिकामा त आधारभूत विद्यालयहरुको दयनीय अवस्था छ । पछिल्लो ५ बर्षमा करोडौं खर्च भएपनि शिक्षा क्षेत्र त्यो पनि आधारभूततर्फ पालिका र शिक्षा संयोजकको लापरवाहीका कारण आधारभूत विद्यालयहरुको अवस्था नाजुक बन्दै गएको आरोप शिक्षा क्षेत्रका जानकारहरुको छ ।
चन्द्रपुर नगरपालिका वडा नं.८ स्थित दलित जन जागरण निम्न माध्यमिक विद्यालय बेतौना, जनकल्याण प्रावि बेल्डी, मोतिपुरमा रहेको शिवशतिm निम्न माध्यमिक विधालय, चन्द्रपुरमा नै रहेको आधुनिक प्रावि राजपेडामा विद्यार्थीको संख्या न्युन रहेको छ । दलित जन जागरण निम्न माध्यमिक विद्यालयमा करिव ६० जना विद्यार्थी छन् भने जनकल्याण प्रावि बेल्डीमा २० जना मात्र विद्यार्थीहरु छन् । दलित जन जागरणमा ६ जना शिक्षक/शिक्षिका कार्यरत छन् ।
यसैगरी, चन्द्रपुरकै जन भावना प्राथमिक विद्यालयमा बाल विकास केन्द्रसहितका विद्यार्थीहरु गरी जम्मा २५ जना छन् । विद्यालयमा ५ जना शिक्षक÷शिक्षिकाहरु रहेको भएपनि विद्यार्थी संख्या भने अत्यन्त न्यून रहेको छ ।
उता, विद्यालयमा विद्यार्थीहरु नियमित बनाउन वातावरण बनाउन विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु त्यति जिम्मेवार नदेखिएको स्थानीयको गुनासो छ । विद्यालयमा विभिन्न शिर्षकमा आएको रकम समेत हिनामिना हुने गरेको उनीहरुको आरोप छ ।
अधिकांश आधारभूत विद्यालयमा भौतिक संरचनाको अभाव छ । भवन भए पनि कक्षा कोठा, डेक्स, बेन्च गतिला छैनन । केहीमा शिक्षकको पनि अभाव छ ।
विद्यालयमा विद्यार्थीको संख्या धेरै देखाइए पनि आधाजसो मात्रै पढ्न आउ“छन ।
शिक्षा विकास तथा समन्वय इकाइ गौरका प्रमुख रामविनय सिंहले भौतिक संरचनाको अभावले जिल्लाभरिका आधारभूत विद्यालयको अवस्था दयनीय बनेको बताए ।
जिल्लाका १८ वटा स्थानीय तहमा झन्डै ४ सय हाराहारी आधारभूत विद्यालय रहेको र ती सबैको भवन, भौतिक संरचना पर्याप्त नभएको उनको भनाई छ ।
नगरपालिकाले बजेट विनियोजन गरेर विद्यालयलाई राम्रो बनाउनुपर्ने भएपनि त्यसो गरेको नपाइएको इकाइ प्रमुख सिंहले बताए । यता,चन्द्रपुर १० स्थित पडहरियाको जनप्रिय आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ । विद्यालयमा कक्षा २, ३, ४ र ५ का विद्यार्थी एउटै कोठामा राखेर पढाइन्छन । कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा विद्यार्थी भर्ना संख्या न्यून छ । आधारभूत विद्यालयमा बिगत ५ बर्षमा गएको बजेट र हालको अवस्थालाई चन्द्रपुरका नगर प्रमुख सञ्जय काफ्लेले अनुगमन गर्दै आधारभूत सहित सबै सामुदायीक विद्यालयको सुधारका लागी पहल गर्नुपर्ने नगरबासीको माग छ ।