चन्द्रपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी चालकको नि:शुल्क स्वास्थ परिक्षण गर्न सुरु गरेको छ । लगातारको सवारी हकाँइबाट हुनसक्ने स्वास्थ्य जोखिम र सडक दुर्घटनालाई मध्यनजरगर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सडकमै सवारी चालकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेको हो । सिभिल अस्पताल चन्द्रनिगाहपुरको प्राविधिक सहयोगमा राजमार्गमै चालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो। स्वास्थ्यकर्मीले पूर्वपश्चिमराजमार्ग हुँदै आवतजावत गर्ने लामा तथा छोटा दुरीका यात्रुवाहक सवारीसाधनका चालकहरुलाई स्वास्थ्यकर्मीहरुले चालकहरुको रक्तचाल, मुटुको चाल, ज्वरो परिक्षण गर्नुको साथै उनीहरुको स्वास्थ्य अवस्था बारे सोधपुछ गरेर केही औषधीहरु नि:शुल्क वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए ।
कार्यक्रमको पहिलो दिन १ सय बढी सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको बताउदैं प्रहरी निरीक्षक अधिकारीले चाडपर्वका बेला राजधानी छाड्नेहरुको संख्या उच्च हुँदा चालकहरु आराम नगरी लगातार सवारी चलाउँदा थकाइले स्वास्थ्यमा समस्या आउनसक्ने भएकाले दुर्घटना जोखिम कम गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वासका साथ स्वास्थ जाँच सुरु गरिएको बताए । दुर्घटना रोक्न ट्राफिक प्रहरीले गरेको यो कार्यप्रति स्थानियले पनि खुसी व्यक्त गरेका छन्।