चन्द्रपुर । वन संरक्षण तथा हरियाली बनाउने अभियान अन्तर्गत डिभिजन वन कार्यालय रौतहटले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्ने गरेको छ । सर्वसाधारण, सामुदायिक, वन निजी वन, संघसंस्थाहरूलाई वन कार्यालयले नर्सरीमा उप्तादन भएका विभिन्न प्रजातिका बिरुवाहरू वितरण गर्दै वन तथा वातावरण संरक्षणमा टेवा पु¥याउँदै आएको छ ।

डिभिजन वन कार्यालय रौतहटको चन्द्रनिगाहपुर, जंगलसैया तथा गौरमा गरेर चारवटा नर्सरीहरूबाट एकवर्षे, बहुवर्षे र जडीबुटी गरेर यो बर्ष ८ लाख १८ हजार बिरुवा उत्पादन गरिसकेको छ ।
कार्यालयबाट खयर, सिसौ, कपुर, टिक, मलेसियन साल, स्थानीय साल, कल्की, कदम, मोरिङ्गा, अमला ,बेल ,अश्वगन्धा, तेजपात लगायतका बिरुवाहरु नर्सरीमा उत्पादन गरी वितरण गरिरहको छ डिभिजन वन कार्यालय रौहतटका प्रमुख हेमन्त प्रसाद साहले बताए ।
६५६ हेक्टर क्षेत्रफलमा रहेका ७२ वटा निजी वनलाई पनि कार्यालयबाटै निःशुल्क बिरुवा वितरण भइरहेको बताउँदै प्रमुख साहले बिरुवा उत्पादन, रोपण तथा हेरचाह प्रक्रियामा संलग्न कार्यमा डिभिजन वन कार्यालय अन्र्तगत तथा अन्य स्थानहरुमा स्थानिय जनशक्तिहरुले प्रत्यक्ष रोजगारी पाइरहेको बताए ।
नागरिकको सहभागिता बिना वन संरक्षणमा उल्लेखनीय सफलता नपाउने भन्दै नागरिकलाई नै वृक्षरोपण मार्फत वन संरक्षणमा उत्प्रेरित गराउने नीति कार्यालयले लिएको छ ।
वन कार्यालयका नर्सरीबाट उत्पादिन विरुवाहरु सर्वसाधरण, सामुदायिक वन, पालिकाहरु , विद्यालय, संघसस्था लगायतले वृक्षारोपणका लागी लैजाने गरेका छन । कार्यालयले वर्षेनी आफ्नो नर्सरीबाट वितरण गरेको बिरुवाहरूको वृक्षरोपण र त्यसपछिको संरक्षणमा पनि जोड दिनुपर्ने स्थानीयको भनाइ छ । बिरुवा वितरण गर्ने तर नहुर्किने हो भने राज्यको लगानी बालुवामा पानी खनाए बराबर हुने उनीहरूको भनाइ छ ।
यता डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद शाह भने आफूहरुले बिरुवा लाने सबैको रेकर्ड राख्ने र लगेको बिरुवा रोपे नरोपेको ,हुर्किएको नहुर्किएकोको अनुगमन गर्दै लगत पनि राख्ने गरिएको बताए ।
रौतहटमा ३० हजार १७० हेक्टर वन क्षेत्र छ । जसमा सरकारद्वारा व्यवस्थित वन आठ हजार २३१ हेक्टर, तीनवटा साझेदारी वनद्वारा ११ हजार ९२७ हेक्टर, ब्लक फरेस्ट व्यवस्थापन एक हजार ५२ हेक्टर, ४३ वटा सामुदायिक वनद्वारा आठ हजार २५७ हेक्टर, चारवटा धार्मिक वनद्वारा ५१ हेक्टर र निजी वनद्वारा ६५६ हेक्टर वन क्षेत्रको संरक्षण गरिँदै आएको उनले जानकारी दिए ।


