बारा : नेपाल प्रेस युनियन बाराले निर्वाचन प्रचार प्रसार समितिको संयोजकहरु तोकेको छ। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गर्दै नेपाली कांग्रेसको तर्फबाट बारा जिल्लाका चार वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई अत्याधिक मतले विजयी गराउने उद्देश्यले प्रचार प्रसार समितिका संयोजकहरु तोकेको हो।
नेपाल प्रेस युनियन बारा शाखाको निर्णयानुसार अध्यक्ष श्यामबाबु प्रसाद यादवको संयोजकत्वमा निर्वाचन प्रचार–प्रसार मूल समिति गठन गरिएको हो। सम्बन्धित पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको जिम्मेवारी निष्ठापूर्वक र प्रभावकारी ढंगले सम्पादन गर्न प्रेस युनियन बाराले अनुरोध गरेको छ। सम्पूर्ण शुभेच्छुक,सञ्चारकर्मी तथा आम मतदाताहरूमा समेत आवश्यक सहयोग र सहभागिताका लागि प्रेस युनियन बाराले अपिल गरेको छ।
बारा क्षेत्र नम्बर १ को संयोजकमा संजीव मिश्रा,क्षेत्र नम्बर २ को संयोजकमा संन्दीप प्रसाद यादव,क्षेत्र नम्बर ३ को संयोजकमा जयनारायण प्रसाद यादव र क्षेत्र नम्बर ४ को संयोजकमा अनिल कृुमार साहलाई युनियनले जिम्मेवारी दिइएको छ। क्षेत्रीय संयोजकहरुको आवश्यकता अनुसार सदस्य संख्या थप गरी जिल्लाबाट नाम सिफारिस गर्न सकिने समेत युनियन बाराले जनाएको छ।
यसैबीच नेपाल पत्रकार महासंघ निर्वाचनको समयमा कारबाहीमा परेका नेपाल प्रेस युनियन बारा शाखाका जयनारायण यादव र गुरु प्रसाद गौतमको कारबाही नेपाल प्रेस युनियन केन्द्रीय समितिले फुकुवा गरेको छ।


