अस्ट्रेलियामा ज्यालावृद्धिको माग गर्दै हजारौँको जुलुस

585

मेलबोर्न — अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् । आगामी मे महिनामा हुन लागेको संसदको चुनावलाई पनि लक्षित गरी भएको उक्त प्रदर्शनका कारण मेलबोर्न शहरको सार्वजनिक यातायात ठप्प भएको थियो ।
विपक्षी लेबर पार्टीले मजदूरको ज्यालामा सामयिक सुधार गर्ने भन्दै चुनाव प्रचार गरिरहेको छ। पार्टीसँग आबद्ध मजदूर युनियनले अस्ट्रेलियालीको जीवनस्तर पछिल्ला ३० वर्षमा सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी गरेको छ।
सत्तारुढ लिबरल–नेसनल गठबन्धनले भने कामदारको ज्याला बढाउन कम्पनीको कर कटौती गर्नुपर्नेमा जोड दिएको छ। प्रदर्शनमा सहभागी धेरै प्रदर्शनकारीले चम्किला कपडा लगाउनुका साथै “नियममा परिवर्तन गरौं” भन्ने नारा लेखिएका ब्यानर बोकेका थिए।
राज्यका प्रधानमन्त्री ड्यानियल एन्ड्रुले अस्ट्रेलियालीहरुले “बाँच्न सक्ने ज्याला” माग गरिरहेको बताए। “मानिसहरु क्रुद्ध भएका छन्। उनीहरु अहिले सडकमै निस्कनुपर्ने अवस्थामा पुगेका छन्।” यसै साताको यो दोस्रो ठूलो प्रदर्शन हो। पशुपक्षी अधिकारवादीहरुले पनि गत सोमबार आकस्मिक प्रदर्शन गरी सडक अवरुद्ध गरेका थिए।
कतिपय लेबर पार्टीका समर्थकहरुले मुलुकभित्र बढ्दै गएको आप्रवासीका कारण रोजगारीमा असर परेको तथा न्यूनतम ज्याला बढ्न नसकेको तर्क गर्न थालेका छन्।