गौर। रौतहट प्रहरीले गएराती तस्करलाई नियन्त्रणमा लिन हवाई फायर गरेको छ । प्रहरीले हवाई फायर गरेर एक भारतीय तस्करलाई नियन्त्रणमा लिएको जनाएको छ । विशेष सुराकीको आधारमा सिमावर्ती मठिया नाकाबाट शनिबार राति प्रहरीले यो सफलता हासिल गरेको हो । जिल्ला प्रहरी कार्यालय गौर र प्रदेश २ को संयुक्त टोलीले तस्करीको माध्यमबाट भारततर्फ लैजान लागिएको ७० बोरा केराउ बरामद गरेको र तस्करीमा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी रवीराज खडकाले बताए । प्रहरीका अनुसार शनिबार राति १२ बजेको समयमा मठिया गाउँ नजिकै करिब १५ जनाको संख्यामा भारतीय तस्कर जम्मा भएका थिए ।
प्रहरीको गस्ती टोलीलाई देखेर तस्करहरु भारततर्फ भाग्न लागेका थिए । सो क्रममा प्रहरी टोलीले चार राउण्ड हवाई फायर गरेर तस्करलाई नियन्त्रणमा लिने प्रयास गरे पनि तस्कर समूहमा रहेका भारत, बिहार राज्यको पूर्वी चम्पारण कुण्डवा चैनपुर घरभएका १८ वर्षीय सचिन गोसाइलाई पक्राउ गरिएको र अन्य तस्कर भाग्न सफल भएको एसपी खडकाले जानकारी दिए । पक्राउ परेका गोसाइको बयानको आधारमा भारतीय तस्करहरुले एकजना स्थानीयको घरमा भण्डारण गरेको ७० बोरा केराउ प्रहरी टोलीले बरामद गरेको हो । बरामद ३० क्वीन्टल केराउको भारतीय बजार मूल्य तीन लाख रुपैया“भन्दा बढी रहेको प्रहरीको अनुमान छ ।