निजगढ,१५ चैत्र ।
निजगढ नगरपालिकाले कोरोना भाईरसबाट उत्पन्न प्रकोप व्यवस्थापनकालागि ५० लाख रुपैंयाको कोष स्थापना गरेकोछ । शनिबार बसेको नगरपालिकाको बैठकले ५० लाख रुपैंयाको कोष स्थापना गर्ने निर्णय गरेकोहो । नगरपालिकाले स्थापना गरेको कोषमा सहयोग गर्न समाजसेवी,व्यवसायी,उध्योगी,राजनैतिक दल,बैंक,सहकारी,बिभिन्न संघ संस्थाहरुलाई आह्वान गरेकोछ । बैठकले मेयर सुरेश कुमार खनालको संयोजकत्वमा नगरस्तरीय कोरोना भाईरस प्रकोप न्यूनीकरण समन्वय तथा अनुगमन समिति गठन गरेकोछ । कोरोना भाईरसको प्रकोप बढ्दै गएको र संक्रमणकाल तथा लकडाउनको अवधि लम्बिदा खाध्यान्न संकट स्थितिलाई मध्यनजर गर्दै खाध्य सुरक्षा सम्बन्धि मौलिक हकको संरक्षण गर्नकोलागी खाध्यान्न खरिद तथा मौज्दातको व्यवस्था मिलाउन वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर लामाको संयोजकत्वमा खरिद समिति गठन गरिएको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।
कोरोना भाईरसबाट उत्पन्न जोखिम न्यूनीकरणकालागि क्वारेन्टाइन स्थल,स्वास्थ्यकर्मी,अन्य कर्मचारी,परिचालन,लगायत अन्य कार्यहरु गर्नकालागी आवश्यक औषधि ईन्फ्रारेड गन,व्यक्तिगत सुरक्षा कवच पिपीई,किटनाशक स्प्रे,बिरामी राख्ने शैया,कपडा,सरसफाईका सामाग्रीहरु,व्यक्तिगत प्रयोगका सामानहरु,बिजुली,खानेपानी,साबुन,स्यानिटाईजर लगायतका आवश्यक सामाग्रीहरु खरिद गर्ने बैठकले निर्णय गरेकोछ । नगर क्षेत्र भित्र किटनाशक औषधि छर्ने व्यवस्था गर्ने समेत बैठकले निर्णय गरेकोछ । नगर क्षेत्र भित्र रहेका स्वास्थ्यकर्मीहरुलाई आवश्यकता बमोजिम परिचालन गर्ने व्यवस्था मिलाईने समेत बैठकमा निर्णय भएको मेयर सुरेश कुमार खनालले बताउनुभयो । यसैगरी चिकित्सक र स्वास्थ्यकर्मीहरु सम्मिलित र्या्पिड रेस्पोन्स टिम गठन गरेर कोरोना भाईरस न्यूनीकरण गर्नकोलागी परिचालन गर्ने निर्णय भएको मेयर खनालले बताउनुभयो । नगरपालिकाले संचालन गरेको हेल्प डेस्क २४ सै संचालन गर्ने नगरपालिका बैठकले निर्णय गरेको छ ।


