कटहरिया,१५ जेठ । क्वारेन्टिन निर्माण गर्ने विषयलाई लिएर विवाद उत्पन्न भए पछि रौतहटको कटहरीया नगरपालिकामा झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएके छ । कटहरिया ५ को जनता माध्यमिक विद्यालयमा रहेको एकमात्र क्वारेन्टिनमा दुई सय भन्दा बढी व्यक्ति भएपछि नगरपालिकाले अर्को स्थानमा समेत क्वारेन्टिन निर्माण गर्न खोजेको थियो । नगरपालिकाले नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएपछि झडप भएको हो । घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टिन राख्न नदिने भन्दै स्थानीयले ढुङ्गामुढासमेत गरेका थिए । झडपमा परी प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउको फुटको छ । प्रदर्शनकारीको ढुंगाले लागेर घाइते भएका उनलाई उपचारका लागि गरुडा लगिएको र विवादले उग्र रुप लिएर झडपमा परिणत भए पछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खड्काले जानकारी दिनुभयो ।


