रौतहट जेठ ३२
रौतहट प्रहरीले अवैध हतियार र लागुऔषध गाँजासहित दुुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरिया बाट खटिएका गस्ती टोलीले अवैध हतियार र गाँजासहित दुई जनालाई गए राति पक्राउ गरेको हो ।
शनिवार साँझ ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलीले जयराजपुर बाट हर्षाहा जान लागेका एकजना मानिसलाई गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा हतियारसहित पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा गुजरा नगरपालिका–८ जयराजपुरका ४० वर्षीय कर्मुलाह अन्सारी रहेको र निजको साथबाट एकथान नलकटुवा पेस्तोल र २ थान गोली बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन् ।
त्यसैगरी ५ किलो लागुऔषध गाँजासहित पक्राउ पर्नेमा राजपुर नगरपालिका–५ का ४५ वर्षीय महमद सलाम रहेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंहले जानकारी दिएका छन् ।
कटहरिया–२ हँथियाही गाँउनजिकै झोलामा राखेर साइकलमा आफनो घरतर्फ गइरहेको क्रममा शनिवार साँझ गस्तीटोलीले सलामलाई गाँजासहित पक्राउ गरेको थियो ।
हतियार र गाँजासहित पक्राउ परेका दुवैजनालाई आज मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिएका छन्


