गौर । गरुडा हत्याकाण्डको अभियोगमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ । साउन ३१ गते गरुडा नगरपालिका वडा नं. ८ जिंगडीयाका २० वर्षीय निरन्जन रामको धारिलो हतियारप्रयोग गरि घा“टी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका ७ जनामध्ये ३ जनालाई अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । हत्या गरेको आरोपमा पक्राउ परेका सोही गाउ“का अर्जुन राम, अजयकुमार रन्जन र शेख आजादलाई जिल्ला अदालत गौरले मंगलबार पुर्पक्षका लागी कारागार पठाउने आदेश गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए । घट्नामा मुख्य योजनाकार भनेर पीडितले किटानी जाहेरी दिएका नर्सरी सञ्चालक भने साधरण तारेखमा छुटेका छन् ।श्रेष्ठका अनुसार पक्राउ परेका ७ जना मध्ये निरन्जन कार्यरत नर्सरीका सञ्चालक राजाराम साहलाई प्रमाण नपुगेको भन्दै अदालतले साधारण तारेखमा छाडेको हो ।त्यस्तै, घट्नामा पक्राउ परेको १९ वर्षीय विवेकराय यादवको उमेरका कारण पुनःस्थापना केन्द्र पठाउने आदेश भएको छ । निरन्जन हत्यामा पक्राउ परेका अर्का सिकिन्द्र पासवानको मनस्थिति ठिक नभएकाले तत्काल उपचारका लागि पठाउने र ठिक भएपछि अदालत पेश गर्ने आदेश भएको डीएसपी श्रेष्ठले जानकारी दिए । पासवानले अदालत समक्ष बयान दिन नसक्ने अवस्था आएकाले उपचार गराउने आदेश भएको हो । यो घट्नामा पक्राउ परेर विजय महराको भने घट्ना स्वीकार गराउने क्रममा प्रहरीको कुटपिटबाट मृत्यु भएको थियो ।


