काठमाडौं ः अब पत्रकारले हुलाक कार्यालयबाटै प्रेस प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । यसअघि प्रेस प्रतिनिधि प्रमाणपत्र लिन काठमाडौंमा आइपुग्नुपर्ने बाध्यतालाई यसले अन्त्य गरेको छ ।
पत्रकारले अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । हुलाक कार्यालयले आवश्यक कागजपत्र रुजु गरेर केन्द्रमा पठाउनेछ । त्यसपछि पत्रकारले त्यहीबाट प्रेस प्रतिनिधि प्रमाणपत्र पाउनेछन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यसलाई महत्वपूर्ण निर्णय भएको बताए। सूचना विभागमा पत्रकारको लाइने हुने समस्याको अन्त्य हुने उनको विश्वास छ । मन्त्रालयले मन्त्रीस्तरीय रुपमा यो निर्णय गरेको गुरुङले बताए ।
७७ वटै जिल्लामा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने व्यवस्था गरेको हो ।
तत्कालका लागि सम्बन्धित जिल्लाका हुलाक कार्यालयबाट प्रेस पास नवीकरण हुने व्यवस्था मिलाइएको भए जस्तै छिट्टै नयाँ परिचयपत्र लिने पत्रकारका लागि पनि आवश्यक कागजपत्र सम्बन्धित जिल्लामा पेश गर्न सकिने व्यवस्था मिलाइँदैछ ।
प्रेस पास नवीकरण गर्न सूचना तथा प्रसारण विभागमा ठूलो भीड लाग्दै आएको छ । प्रेस पास लिन तथा नवीकरण गर्न पत्रकारले विभागमा कोठाकोठा चाहार्दै घण्टौं बिताउर्नुे अवस्थाको यो व्यवस्थाले अन्त्य गर्नेछ । यसबाट विभागको कार्यबोझ घट्ने निश्चित छ भने निष्क्रिय प्रायः रहेका हुलाक कार्यालयहरुले जिम्मेवारी पाएका छन् ।
लामो समयसम्म पत्रकारितामा सक्रिय भएका तर विविध कारणले प्रेस प्रतिनिधि परिचयपत्र लिन नसकेका, अपाङ्गता जस्ता कारणले सूचना विभागसम्मको पुहँच नभएका पत्रकारलाई सहजै जिल्लाबाटै सेवा उपलब्ध हुने भएपछि निरन्तर कार्यक्षेत्रमा लाग्न चाहने सञ्चारकर्मीलाई बेरोकटोक काम गर्ने अवसर मिल्नेछ ।

साभार अन्नप’र्ण पोष्ट


