गौर,२ चैत । रौतहटको सदरमुकाम गौरमा सोमबार जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको छ । राष्ट्रिय जनगणना २०७८ मा हुने १२ औं जनगणनाको तयारीलाई तिब्र पार्न गौरमा जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक कार्यक्रमका बीच उक्त कार्यालयको स्थापना गरेका हुन ।
नेपालमा दश—दश वर्षको अन्तरालमा जनगणना हुने प्रावधान छ सोही प्रावधान अनुसार आउँदो २०७८ सालमा १२औं जनगणना हुन लागेको हो । जनगणनाको तयारी तथा सो सम्बन्धी हुने सम्पुर्ण कामको लागि जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । स्थापना भएको कार्यालयले २०७८ बैशाखदेखी सुपरिवेक्षकहरु द्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने, तथ्यांक संकलन गर्ने र गणकहरुबाट मुल गणनाको काम गर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने भएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति, जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा,उपप्रमुख र जिल्ला भित्रका सवै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्ला स्तरीय जनगणना सहजीकरण सयन्त्र रहने बुझिएको छ ।
जिल्लाका स्थानीय तहमा चाहि“ स्थानीय जनगणना समन्वय समिति रहनेछन् जसमा सम्वन्धीत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उनले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बन्नेछ भने वडामा वडा स्तरीय जनगणना सहजीकरण समिति रहने छ जसको संयोजकमा सम्वन्धीत वडाका वडाअध्यक्ष रहने जनाईएको छ । उक्त समितिमा वडा कार्यालयले तोकेको वडाभित्रका विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्षले तोकेको वडा सदस्य, वडाअध्यक्षले तोकेको महिला वडा सदस्य र वडा सचिव रहनेछन् ।


