रौतहट वनमा तस्करको रजगज,डिएफ्ओ यादव निन्द्रामा

चन्द्रपुर–रौतहट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्रको विभिन्न स्थानहरुमा तस्करको रजगज रहेको पाईएको छ ।
दिनप्रतिदिन जंगल फडानी एवं अतिक्रमण गर्ने कार्य भईरहेको भएपनि सम्बन्धित निकाय निन्द्रमा रहेको छ ।
राष्ट्रिय वन अन्तर्गत पर्ने चन्द्रपुर नगरपालिका वडा नम्बर ३ अरुणवस्ती, भोलेन्टार, गैडाटारको महादेव डाडा, तोरीवारी, इपलीबस्ती, फुलवारी, हिलेखोला पौराई लगायतको वन जंगल क्षेत्रमा रुखहरु व्यापक रुपमा फडानी गरेर अतिक्रमण गर्ने कार्य भईरहदा पनि डिभिजन वन कार्यालय चन्द्रपुरबाट कुनै प्रयास नभएको जनगुनासो बढ्दै गएको छ ।
वन जंगलको सुरक्षाको जिम्मेवारी लिएर बसेका डिभिजन वन कार्यालय चन्द्रपुरको कर्मचारीकै मिलोमतोमा काठ तस्करी देखि लिएर वन अतिक्रमण भईरहेको छ ।
पछिल्लो समय वन क्षेत्रहरुमा चरिचरणको साथै रुख काट्ने प्रवृति बढ्दै गएको पाइएको छ ।
राजमार्ग भन्दा उत्तर तर्फ चुरे संग जोडिएका वन क्षेत्रमा वन कर्मचारीको उपस्थिति शुन्य छ ।
राष्ट्रिय वन सम्पदा अतिक्रमणको चपेटामा पर्दै गएको छ । पछिल्ला केही साता देखि अरुण बस्ती लगायतका क्षेत्रमा फडानी गरी ट्रेक्टरमा काठ लोड गरेर धनसार खोला हुदै गएको प्रमाणनै फेला पारेको स्थानीय बासिन्दाहरुले जन सरोकार दैनिकलाई बताएका छन् ।
बर्षेनी राष्ट्रपति चुरे संरक्षणको नाममा १ करोड भन्दा बढि रकम आउने गरेको भएपनि राष्ट्रिय वन संरक्षणको अभाव रहेको छ ।
डिभिजन वन कार्यालय चन्द्रपुरको प्रमुख अमरदेव यादवले आफूले भ्याए सम्मको गस्ती गरिरहेको दावी गर्दै अतिक्रमण तथा रुख फडानी गर्नेहरुलाई वेलाबेलामा नियन्त्रणमा लिई कारवाही गरेको दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles