रौतहट , १८ साउन। सनिबार रौतहटको बागमती नदीमा बेपता भएका एक भारतीय युवकको शव भेटिएको छ। नदीमा नुहाउने क्रममा बेपता भएका भारत बिहार खगडिया पछौराका ३० वर्षीय रोहित कुमार सिंहको शव आईतबार नहरमा भेटिएको हो।
शनिबार चन्द्रपुर नगरपालिका वडा नम्बर १ नुनथर स्थित बागमती नदीको झोलङ्गे पुल नजिक मादक पदार्थ सेवन गरेर नुहाउन जाने क्रममा अचानक नदीमा आएको पानीको भेलले बगाएर सिंह बेपता भएका थिए । सप्रबल नेपाल नं.११ गण हेक्का रौतहट र इप्रका चन्द्रनिगाहपुरको संयुक्त टोलीले खोज्दै जाँदा बेपता भएको स्थानबाट करिब १५ किलोमिटर पश्चिम रौतहटको गुजरा नगरपालिका ७ पल्टुवा स्थित बागमती नदिको नहरमा शव फेला परेको जानकारी प्रहरीले दिएको छ।
भारतीय युवकको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पुर्याएको र पोस्टमार्टम पछि परिवारको जिम्मा लगाउने रौतहट प्रहरीले जनाएको छ ।


