विश्व प्रकाश तिम्सिना (शर्मा)
रौतहट क्षेत्र नम्बर –४ यसपटक सामान्य चुनावी प्रतिस्पर्धाको थलो होइन । यो विगतका खोक्रा नाराहरू, अवसरवादी सौदाबाजी र परिणामविहीन प्रतिनिधित्वमाथि अन्तिम प्रश्न उठाउने राजनीतिक अदालत बनेको छ । मतदाता अब “को आयो?” भन्दा “के गर्यो र के पूरा गर्छ ?” भन्ने स्पष्ट उत्तर खोजिरहेका छन् । यही निर्णायक घडीमा नेपाली कांग्रेसका उम्मेदवार देव प्रसाद तिमिल्सिना रौतहट–४ को केन्द्रमा उभिएका छन् : – अनुभव, संघर्ष र कार्यान्वयन स्पष्ट रोडम्यापसहित ।
देव प्रसाद तिमिल्सिना भीडको ताली खोज्ने नेता होइनन् । आफ्नै पार्टीभित्र गलत प्रवृत्तिविरुद्ध उभिन सक्ने, कारबाही र टिकटको डर नगरी रुपान्तरण र पुस्तान्तरणको एजेन्डा बोकेर हिँड्ने नेता हुन् । विशेष महाधिवेशनमार्फत केन्द्रीय सदस्यमा निर्वाचित हुनु उनको पहुँचको परिणाम होइन, विचार र साहसको जनमत हो । पार्टीभित्रै बसेर परिवर्तन सम्भव छ भन्ने प्रमाण तिमिल्सिना आफैं हुन् ।
- प्रतिनिधि सभा सदस्य रहँदा उनले सदनलाई औपचारिक उपस्थितिको थलो बनाएनन् । रौतहट–४ का सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य, रोजगारी, सीमा क्षेत्रका संरचनागत समस्या र मधेसको पहिचानसम्बन्धी सवाल उनले बारम्बार संसदमा उठाए । बजेटको असमान वितरण, योजनामा हुने राजनीतिक हस्तक्षेप र कागजी विकासमाथि उनले प्रत्यक्ष प्रश्न गरे । धेरै सपना उठाइए, धेरै योजना बोले तर कमजोर कार्यनयन र अस्थिर सरकारका कारण ती अधुरा रहन पुगे । यही अधुरोपन आज उनको सबैभन्दा बलियो राजनीतिक एजेन्डा बनेको छ किनकि यसपटक तिमिल्सिना सपना देखाउन होइन, आफ्नै उठाएका सवाल कार्यनयन गर्न मत माग्दैछन् ।
- यो उम्मेदवारीको अर्को निर्णायक आधार हो;नेपाली कांग्रेसको अहिलेको राजनीतिक दिशा । कांग्रेस अब प्रश्न गर्ने विपक्षमा सीमित रहन चाहँदैन । युवा र परिपक्व नेतृत्वको संयोजनका रूपमा गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै कांग्रेस चुनावमा होमिएको छ । यसको सन्देश स्पष्ट छ :अब समस्या गन्ने होइन, समाधान लागू गर्ने राजनीति हुनेछ । आलोचना मात्र होइन, परिणाम देखाउने नेतृत्व मैदानमा आएको छ ।
- देव प्रसाद तिमिल्सिना र गगन थापाको राजनीति एउटै बिन्दुमा जोडिन्छ र त्यो जवाफदेहिता र कार्यनयन । पार्टीभित्रै सुधारको लडाइँ लडेका देव प्रसाद तिमिल्सिना र राष्ट्रिय तहमा शासन सुधारको एजेन्डा अघि सारेका गगन, दुवैको साझा विशेषता भाषणभन्दा परिणाम हो ।
- मधेसी समुदायको बाहुल्यता भएको रौतहट–४ मा तिमिल्सिनाको लोकप्रियता संयोग होइन । उनी यहाँका लागि आयातित अनुहार होइनन्, यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य भइसकेका अनुभवी नेता हुन् । मधेस–पहाडको कृत्रिम विभाजन बेच्नेहरूका बीच उनले सहअस्तित्व, सम्मान र साझा भविष्यको राजनीति गरेका छन् । त्यसैले उनको प्रभाव जात, समुदाय र पार्टीको सीमाभन्दा माथि पुगेको छ ।
- आज जनताले नेताबाट सहानुभूति होइन समयसीमा खोजिरहेका छन्। भाषण होइन कामको हिसाब चाहिरहेका छन्। यही मागको जवाफ दिन गगन नेतृत्वको नेपाली कांग्रेस र देव प्रसाद तिमिल्सिनाको उम्मेदवारी एकैसाथ उभिएको छ ।
- यसपटक रौतहट–४ मा चुनाव व्यक्तिको होइन, प्रवृत्तिको विरुद्धको जनमतसंग्रह हो ।
- अवसरवादी सम्झौताले थिचिएको विगत रोज्ने कि कार्यनयनसहितको भविष्य ?
- उत्तर स्पष्ट बन्दैछ….
- देव प्रसाद तिमिल्सिनाको जित केवल विपक्षीका नारामाथि काउन्टर होइन—यो रौतहट–४ मा परिणाममुखी राजनीतितर्फको निर्णायक फैसला हुनेछ ।






