रौतहट,३० असार । लगातारको बर्षाका कारण डुबानमा परेको रौतहटको गौर नगरपालिकासहित आसपासका दर्जन बढी गाउँमा पानीको सतह घट्न थालेको छ । पानी रोकएको र दशगजामा भारतीय पक्षले बाँध खोलेपछि आईतबार पानीको सतह घटेको हो ।
बाढीका कारण जम्मा भएको ८० प्रतिशत पानी घटेको छ । लाल बकैया र बागमतीको बाँध भत्केपछि जिल्लाका दर्जन बढी गाउँमा बाढी पसेको थियो ।
प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरीले बाढीमा फसेकाहरुको उद्धार सुर गरेको छ । सडक सञ्जाल ध्वस्त भएका कारण उद्धार र क्षतीको पुर्ण विवरण आउन केही समय लाग्ने रौतहट प्रशासनले जनाएको छ । निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिव ३० हजार बढी घरमा क्षति पुगेको छ । बाढीबाट बिस्थापित हरु सामुदायिक भवन, बिद्यालाय, लगायतका सुरक्षित स्थानमा बसेका छन् ।
बाढीका कारण अधिकांस बाढी पीडितको अवस्था दर्दनाक बनेको छ । कतिले बास पाएका छैनन् भने खाना,पानीको समस्या रहेको गुनासो गरेका छन् । उनीहरुले राहत नपाएको भन्दै तत्काल राहतको माग गरेका छन् ।
अविरल वर्षासँगै लालबकैया र बाग्मती नदीमा आएको बाढीका कारण डुवानमा परेको रौतहटमा आइतबार विहानदेखि पानी रोकिएको छ । डुवानका कारण सयौं घरमा क्षति पुगेको छ भने करौडौंको बालीनाली नोक्सान भएको छ । डुवान प्रभावितहरु सडक र विद्यालय भवनमा बसेका छन् । खानेपानी र बासस्थानको अभावमा दैनिकी कष्टपूर्ण बनेको छ ।
बाढीले घर भत्काएपछि गौर–चन्द्रनिगाहपुर सडकखण्डको विभिन्न स्थानमा प्लास्टिकको छाप्रो हालेर बस्न उनीहरु बाध्य भएका छन् । उनीहरुले विहान बेलुका खान र लत्ता कपडाको समस्या भएको गुनासो गरेका छन् ।
शवगढाका गौरीसंकर प्रसाद जयसवालले बाढीका कारण घर डुबाएको र अन्नपात समेत बगाएकाले परिवार सहित बाटोमा पाल टाँगेर बस्न बाध्य भएको बताए । उनको ६ जनाको परिवार निरन्तर ३ दिनदेखी राजमार्ग छेउमा पाल टाँगेर बसेको भएपनि कसैले वास्ता नगरेको उनले गुनासो गरे ।
सोही स्थानमा पाल टाँगेर बसेकी राजपुर नगरपालिका १ की ६० बर्षीय बृद्धा पुरकलिया देबीले खाना,बस्न र लत्ताकपडा केही नभएको बताईन । उनी सहित उनको ५ जनाको परिवार समेत बाटोमै पाल टांगेर बस्न बाध्य छन् ।
उनका छोरा मेघनाथ यादबले बिपतमा परेको बेला कसैले नहेरेको गुनासो गर्दै बाढीपिडीतलाई न्यान दिलायन आग्रह गरे ।
यता बाढीका कारण सर्पदंशका बिरामी समेत बढ्दै गएको चन्द्रनिगाहपुर अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तबका अनुसार हालसम्म १८ जना सर्पदंशका बिरामी भर्ना भएको र बिरामी बढ्ने क्रम जारी रहेकाले औषधीको समेत अभाव हुने देखिएको उनले बताए ।
पानी घटेपछी रौतहटमा पाँच जनाको शव फेला परेको छ । जिल्लाको यमुनामाइ गाउँपालिकाकी गायत्री देवी, इशनाथ नगरपालिका हरेन्द्र राय, दुर्गा भगवती गाउँपालिकाका बिरेन्द्र झा, गौर नगरपालिकाका शिव मंगल् राउत र उमेश राउतको शव फेला परेका हो । त्यस्तै गढिमाइ नगरपालिकाकी आनन्दी देवी र इशनाथका रामपुकार अहिले सम्म पनि वेपत्ता रहेका छन् ।





