चन्द्रपुर,२९ असोज । सरकारले प्रतिबन्ध लगाएको भएपनि विभिन्न स्वादका शक्तिवद्र्धक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’रौतहटका बजारमा खुलेआम बिक्रि बितरण भईरहेको भएपनि नियामनकारी निकाय मौन बसेको छ । सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै सरकारले गत असारदेखि त्यस्ता शक्तिबर्दक जुस बिक्री वितरणमा रोक लगाएको थियो ।
त्यस्ता विभिन्न ब्राण्डका जुस भियतनाम, बंगलादेश र थाइल्याण्डबाट आयात ह“ुदै आएका थिए । शक्तिवद्र्धक जुसले मुटु, मिर्गौलामा असर गर्ने विज्ञहरुको भनाइ छ । सरकारले त्यसबारे मन्त्रिपरिषद्बाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरे पनि प्रतिबन्धबारे सर्वसाधारणलाई जानकारी नै नभएका कारण समेत बिक्रेताले खुलेआम बिक्रिबितरण गरिरहेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको बेवास्ताका कारण रौतहटका उपभोक्ता रेडबुल, लिची, एप्पलस्लाइडर जस्तै थुप्रै प्रकारका शक्तिवद्र्धक जुस स्वास्थयको ख्यालनै नगरी पिउन बाध्य रहेको रौतहट उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष टिका घिमिरेले बताए । उनले सम्बन्धित निकायको बेवास्ताका कारण रौतहटका उपभोक्ता धेरै कुरामा ठगिन बाध्य रहेको,नियमित अनुगमन र सर्वसाधारणसम्म चेतना फैलाउने काम तर्फ ध्यान नदिएकाले प्रतिबन्धित जुस देखी लिएर अन्य खाद्यपदार्थ प्रयोग गर्न बाध्य रहेको अध्यक्ष घिमिरेको आरोप छ ।
“व्यापारीसंग जानकारी माग्दा पुरानो स्टक बिक्री गरेको भन्दै पन्छिने गरेका छन् । निकासी पैठारी (नियन्त्रण ऐन) २०१३ को दफा ३ को उपदफा १० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद् को निर्णय अनुसार ०७६ असार २ गते नेपाल राजपत्रमा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना खण्ड ६९, सङ्या ११, नेपाल राजपत्र, भाग ४ को सूचना नं १ को प्रकरण ४० ले शक्तिवद्र्धक पेयपदार्थ र यस्तै प्रकारका पेयपदार्थको पैठारीमा पूर्ण बन्देज लगाएको हुंदा यस्ता पेयपदार्थ पैठारी (आयात) नहुने जानकारी गराइन्छ, सरकारले गरेको निर्णयमा उल्लेख भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो भएका कारण यस्ता जुस बजारमा खुलेआम बिक्रिबितरण भईरहेको पत्रकार यादबराज पुरीले बताए ।


